मधेशमा बीमाको पहुँच बढाउन प्राधिकरण अध्यक्ष सिलवालको निर्देशन

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो निर्दशन दिएका हुन् ।

उनले बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न समेत बीमकहरूलाई आग्रह गरेका छन् । बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाललाई तालिम संचालन गर्न लगाउने जानकारी दिँदै सिलवालले स्थानीय आवश्यकता अनुरूपको नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह सेमत गरेका छन् । यस्तै बैंक र बीमा फरक हुन् भन्ने बारेमा सबैलाई बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए ।

यस्तै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गर्नुपर्ने, केन्द्रीय कार्यालयले निश्चित अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्राधिकरणबाट हालै जारी गरिएको सम्पत्ति बीमा निर्देशिकामा धेरै सुधार भए पनि केही विषयहरू अझै स्पष्ट पार्नुपर्ने, कोरोना बीमाको बाँकी दाबी भुक्तानी गर्न ढिलाई गर्न नहुने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा मधेश प्रदेशस्थित बीमकका प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू र सरोकारवालाहरू लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।