मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
त्यस्ता मोबाइल दर्ता गर्न भन्दै अनलाइन भुक्तानी सहित छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको छ । तर यस अवधिमा थोरै ग्राहकले मात्र निर्धारित शुल्क बुझाएर दर्ता गरेका छन् । ठूलो सङ्ख्यामा रहेका मोबाइल फोन अझै पनि दर्ता भएका छैनन् ।
‘यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएका उक्त मोबाइल ह्यान्डसेटहरूमा नियामनुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो ।
यसअन्तर्गत आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका बारफोनका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको थियो ।
मोबाइल एमडीएमएसमा दर्ता गर्ने तरिका
सबैभन्दा पहिला गुगलमा गएर Grey registration nta खोजेर सुरुको लिङ्कमा जानुहोस् । त्यसमा मोबाइल डिटेलमा आफ्नो मोबाइलको आईएमईआई नम्बर ब्रान्ड तथा कम्पनीको नाम र मोडल नम्बर राख्नुहोस् । यदि आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी पत्ता लगाउनुहोस् ।
यति गरिसकेपछि पर्सनल इन्फरमेसन खण्डमा आफ्नो नाम, सम्पर्क नम्बर, प्यान नम्बर र स्थायी ठेगाना खुलाउनुहोस् । अब अन्तिममा रहेको Proceed to next step थिच्नुहोस् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया