नेपालीहरूको महान् चाड बडादसैं सुरु भएको छ । दसैंंलाई मासु खाने पर्वको रूपमा पनि मनाइन्छ । देश विदेशमा रहेका परिपरिवारका सदस्यहरू जम्मा भई दसैँमा खुसी मनाउँदै मासुका विभिन्न परिकारहरू बनाएर खाने गरिन्छ । मासु खाने भनेर मात्र पनि हुँदैन मासुलाई स्वादिलो बनाएर पकाउने कला पनि आवश्यक हुन्छ। अझ चाडपर्वको समयमा घरमा विभिन्न खानेकुरा पाक्ने गर्छन्। मासु त भान्सामा छुट्दै छुट्दैन।
मासुका विभिन्न परिकारहरू बनाउन सकिन्छ । मासुका विभिन्न परिकारहरू सेकुवा, पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, लगायतका परिकारहरू कसरी बनाउन सकिन्छ
भुटन र रक्ती
भुटन र रक्ती बनाउन सुरुमा खसीको आन्द्रा भुँडीलाई तातो पानीमा उमालेर त्यसमा थोरै टिमुर, अदुवाको २÷३ टुक्रा काटेर राख्नुपर्दछ । त्यसपछि आन्द्रा भुँडीलाई सानो सानो पिस बनाएर काटेर थोरै खाने तेल राखेर राम्रोसँग भुट्ने । भुटिसकेपछि त्यसमा टिमुर, नुन, खुर्सानीको धुलो राखेर सानो आगोमा पकाउन रक्ती पकाउँदा सुरुमा तेल तताउने र ज्वानो, बेसार र रक्ती हालेर भुट्ने। स्वाद अनुसारको नुन राख्ने रक्तीको मसला ज्वानो हो । ज्वानो हाले पछि अन्य मर–मसला हालिरहनु पर्दैन ।
पकवा कवाव
हड्डी नभएको खसीको मासुमा थोरै जिरा र धनियाको धुलो, प्याज, लसुन, अदुवा, खुर्सानी, बेसारको धुलो, थोरै खाने तेल तथा शुद्ध घ्यू, स्वाद अनुसारको नुन र दही, तेज पत्ता मिसाएर मोल्ने । त्यसपछि कुकरमा सानो आगोमा पकाउने । यसरी पकाउँदा मिसाएका मसलाहरू मासु सँगै पाकिरहन्छ । राम्रोसँग चुरो गल्ने गरी पाकेको मासु धेरै दिनसम्म पनि बिग्रँदैन ।
मासुको सुप
हड्डी भएको मासुलाई छुट्टाएर थोरै तेलमा प्याजलाई भुट्ने, त्यसपछि मासु, बेसार हालेर सानो आगोमा पकाउनु पर्दछ । मासु पाकेजस्तो भएपछि जिरा, धनिया, ल्वाङ सुकुमेल र खुर्सानीको धुलो राखेर चलाउने, स्वाद अनुसारको टमाटर काटेर राख्ने र चाहिने जति पानी हालेर सिट्ठी लगाउनुपर्दछ । ४ देखि ५ सिट्ठी लगाएर मासु पाकिसकेपछि लसुन, अदुवाको पेस्टलाई मासुमा हाल्नुपर्दछ । हरियो धानियालाई काटेर मासुमा मिसाउने र ५ मिनेटसम्म छोपिदिने । अब मासुको मिठो सुप खान बनाएर खान सकिन्छ ।

ग्रेभी मासु
हड्डी र मासु भएको मासु छान्ने । थोरै तेलमा प्याज, बेसार भुट्ने, मासु हाल्ने र पकाउने । गोलभेँडा र दही राखेर चलाउने स्वाद अनुसारको नुन र खुर्सानीको धुलो, अदुवा, लसुनको पेस्ट हाल्ने र चाहिए जति पानी राखेर बढिमा २ सिट्ठी लगाएमा मिठो ग्रेभी मासु तयार पार्न सकिन्छ ।
छोयला
मासुलाई मीठो परिकारको रूपमा छोयला बनाएर पनि खान सकिन्छ । तपाइलाई मन पर्ने चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला परिकार बनाउन सकिन्छ । छोयला बनाउन मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने । नुन, बेसार राखेर राम्रोसँग मोल्ने । यसरी मोलेको मासुलाई आधा घण्टासम्म त्यसै छोपेर राख्ने । अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने । पोलेर तयार भएको मासुमा मर–मसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरीच, टिमुर हालेर मज्जाले मोल्नुपर्दछ । तेल तताएर तयारी मासुलाई झान्ने । अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने । आफ्नो स्वाद अनुसार कागतीको रस पनि छोयलामा मिसाउन सकिन्छ ।
सेकुवा
सबैभन्दा पहिला सेकुवाको लागि बोनलेस मासु छुट्याउने । मासु समान आकारको बनाएरका टुक्रा बनाउने । समान आकारमा मासु तयार गर्दा पकाउन सजिलो हुन्छ र एकनासले मासु पाक्छ । सेकुवाको लागि तोरिको तेल, अदुवा लसुन, रेड चिल्ली पाउडर, ब्ल्याक पेपरको धुलो, जिरा धनियाँको धुलो, मिट मसला, सोया सस र नुन चाहिन्छ । मासुको परिमाण अनुसार र आफूलाई चाहिने स्वाद अनुसार यी मरमसलालाई मासुमा मिलाउने ।
मासुको सबै भागमा सबै मरमसला पुग्ने गरी मासुलाई मजाले मिक्स गर्ने । यसरी मासु र मरमसला मिक्स गरिसकेपछि त्यसलाई फ्रिज भए फ्रिजमा र फ्रिज नभए हल्का चिसो ठाउँमा २र३ घण्टा राख्ने । यसरी मासु राख्दा मासुको भित्रि भागसम्म मसलाहरुको तत्व भित्रभित्रसम्म पुग्छ र मासु स्वादिलो हुन्छ ।
अब मेरिनेट गरेको उक्त मासुलाई झिरमा उन्ने। झिरमा मासु उन्दा धेरै टाइट हुनेगरी नउन्नुहोस किनकि धेरै टाइट हुँदा सबै ठाउँमा समान तरिकाले नपाक्न सक्छ । अब उक्त झिरमा उनेको मासुलाई इलेक्ट्रिक ग्रिल वा कोइलाको आगो, वा आगोमा मजाले पोल्ने ।
मासु पोल्ने क्रममा यताउता फर्काउनुहोस र बेला बेलामा तेल छर्किनुहोस । यसरी बीचबीचमा तेल राख्दा मासु सुख्खा हुँदैन र राम्रोसँग पाक्छ । मासुलाई मजाले रातो होउन्जेल पाक्न दिने । यसरी तपाईंको सेकुवा अब खान तयार भयो ।
खसीको खुट्टाको सुप
खसीको खुट्टको सुप बनाउदा शुरुमा तेलमा प्याज भुट्ने। त्यसपछि खसीको खुट्टामा हरियो मुङको दाल, अदुवा, लसुन र मसला राख्ने र मज्जाले भुट्ने। भुटीसकेपछि पानी राखेर खुट्टाको हड्डी नगलुन्जेलसम्म सिठ्ठी लगाइ रहने। हड्डी नरम भएपछि सुप खान सकिन्छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया