मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रममा हालसम्म करिब ८० लाख रुपैयाँ संकलन भएको छ ।
गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्र्फूत सहयोग उठिरहेको हो ।
कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट मात्रै हालसम्म करिब ८० लाख सङ्कलन भएको हो । “देशविदेशमा रहनुभएका मुस्ताङवासीबाट सहयोग आउने क्रम जारी छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, उनले भने, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।”

सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उनको भनाइ छ । “बाढी आउँनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए”, संयोजक गुरुङ भन्छन्, “प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ ।”
बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीयहरुले आफै पनि गरिरहेका छन् । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ । ‘तीन वटै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीन/चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ’ उनी भन्छन्, “धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ ।”
गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरु आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताइन् । बाढीमा घरबास गुमाएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रय लिइरहेकी छिन् ।

“घरगोठ, जग्गा सबै बाढीले लग्यो, अब आफ्नो भन्ने केही पनि छैन”, उनले भन्छिन् “सरकारले हाम्रो दुःख देखोस्, बाढी प्रभावितलाई केही व्यवस्था होस् ।”
सङ्घसंस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको उनले सुनाइन् । हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकामा स्थानीयबासी दुःखी छन् । “अहिलको जस्तो बाढी कहिल्यै आएको थिएन, धन्न हामी जोगिऔँ, धन सम्पत्तिको भने धेरै ठूलो क्षति भयो”, गुरुङले भन्छिन् “पर्यटक र तीर्थयात्रीको चहलपहल हुने ठाउँ अहिले उराठलाग्दो बनेको छ ।”
कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया