दसैं मनाउन काठमाण्डौं उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाण्डौं भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।
नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । दसैँको नवमी र दशमीका दिन काठमाण्डौं उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया