आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य


आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो । सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो । सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका थिए ।

गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो । गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए । सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे । चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरेका थिए ।

त्यसपछि सन्दीपले जनकप्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे । अभिनास बोहराले १८औं ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराए ।

त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरेका थिए ।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। गुल्सन झा, करण केसी र सन्दीप लामिछानले २-२ विकेट लिन सफल भए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।