ओरियण्टल होटल्सको लाभांश वितरण

0
Shares

ओरियण्टल होटल्स लिमिटेडले लाभांश वितरण गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९–८० बाट वितरण गरेको करसमेत ५.२७ प्रतिशत नगद लाभांश दशैंअघि नै वितरण गरेको हो ।

कम्पनीको असोज २५ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश पारित गरेको थियो । अघिल्ला तीन आर्थिक वर्षमा लाभांश वितरण नगरेको होटलले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको आधारमा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि होटलले असोज १२ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार असोज ११ गतेसम्म होटलको सेयर खरिद गरी कायम रहेका सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको होटलले जानकारी दिएको हो ।

साथै होटलले असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने बताएको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेस गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

होटलले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।