इरान र अमेरिकाबीचको बढ्दो तनावले सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

0
Shares

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाली बजारमा सुनको मूल्य आईतबार हालसम्मकै सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । यस अघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आईतबार ७५ हजार ५ सय पुगेको छ।

नेपाल सुनचाँँदी व्यवसायी महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । यस्तै तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आईतबार एक हजार रुपैयाँले बढेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ७४ हजामर २ सयबाट एक हजार रुपैयाँले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ । शुक्रबार र आईबार चाँदीको मूल्यमा भने खासै फरक परेको छैन् ।

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिए पछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुन चादीको मू्ल्यमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ठूलो मुलुकसंग युद्ध भई हाल्यो भने हुने सक्ने ठूलो क्षतीमा बच्न शेयर र नगद पैसा भन्दा सुन बढी किफायती हुने भएकाले विश्व बजारमा सुन किन्ने बढ्छन् । ’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने । युद्ध पछि संसारको जुनसुकै देश पुगे पनि बिक्न सक्ने धातु सुन नै भएकाले युद्धको भयमा सुनको बिक्रि बढ्ने उनले बताए । जसको कारण विश्व बजारमा सुनको माग बढेको र किर्तिमानी मूल्य पनि कायम भएको छ । महासचिव बज्राचार्यले भने ।

इकोनोमिक्स टाईम्सका अनुसार अमेरिकमा सुनको मूल्य पछिल्लो चार महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बुल्मबर्गले मध्य पूर्वको तनावका कारण विश्व बजारमा सुनको मूल्य ६ वर्ष यताकै सबै भन्दा उच्च बिन्दुमा पुगेको उल्लेख गरेको छ ।