ओटिसी बजारबाट ३ महिनामा २३ कम्पनीको एक अर्ब ७१ करोडको सेयर किनबेच

0
Shares

चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटिसी) बजारबाट २३ कम्पनीको एक अर्ब ७१ करोड ६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३ महिनाको अवधिमा २३ कम्पनीको १ करोड ३६ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको हो । कम्पनीको न्यूनतम एक सय रुपैयाँदेखि उच्चतम ९ हजार ३७५ रुपैयाँसम्म सेयर किनबेच भएको छ ।

नेप्सेमा अनुसार उक्त अवधिमा ओटिसी बजारबाट कारोबार भएका २३ कम्पनीमध्ये वर्डलिंक कम्युनिकेसनको सर्वाधिक उच्च मूल्यमा सेयर किनबेच भएको छ । वर्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा सेयर किनबेच भएको छ । जसको १३ हजार ३९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।

त्यस्तै दोस्रो उच्च मूल्यमा कारोबार भएको काठमाडौं मेडिकल कलेजको सेयर प्रतिकित्ता २५९ रुपैयाँ ७६ पैसामा बिक्री भएको छ भने लक्ष्मी स्टिलको प्रतिकित्ता २०० रुपैयाँमा किनबेच भएको छ । बन्दिपुर केबलकार र अन्नपूर्ण केबलकारको प्रतिकित्ता १४० रुपैयाँका दरले किनबेच भएको छ ।

हिम रिभर पावर, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी होटेल, याम्बालिङ हाइड्रोपावर, गर्जन उपत्यका पावर, एपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपन मल्टिपल क्याम्पस, अवसर इक्विटी, इलेक्ट्रो पावर कम्पनी, क्यान्डेश्वरी महादेवखोला पावर लिमिटेड, गरिमा क्यापिटल लगायतका कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँका दरले किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जले ओटिसी बजारको सुरुवात ०६४ सालमा गरेको हो । ओटिसी बजारमा कम्पनीको सूचीकरण नभएका, खारेज भएका कम्पनी र सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा हुन नसकेका पब्लिक कम्पनीहरूको सेयर ओटिसी बजारबाट कारोबार हुँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।