नबिल बैंकको खुद नाफा घट्यो


नबिल बैंक लिमिटेडको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.५१ प्रतिशतले घटेको छ। बैंकको नाफा घटेसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसाले घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यद्यपी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०।२१ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।