टी-२० विश्वकप: युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य


युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत मुलपानी  मैदानमा भएको एसिया छनोटको सेमिफाइनलमा युएईले ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो ।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए ।

आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन् । सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे । वासीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यसपछि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे । नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो । सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँचब लमा कुनै रन दिएनन् ।

बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा १० रन खर्चिए । सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए ।

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ । किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपालले पहिलो पटक २०१४ को विश्वकप खेलेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।