रुकुम पश्चिमको आठबीसकोटमा सरकारी राहत पुर्‍याइयो


रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत सामग्री पुर्‍याइएको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।

आजदेखि भूकम्पप्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नगरपालिकामा पहिलो चरणमा बिस्कुट, चाउचाउ, त्रिपाललगायत सामग्री आइपुगेको आठबीसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार अन्य ठाउँबाट पनि राहत सामग्री आउने क्रम जारी छ ।

नगरपालिकाबाट दाल, चामल, नून, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी भइरहको आठबीसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए । पहिलो चरणमा २८ परिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिने छ ।

आजै प्रभावित क्षेत्र आठबीसकोट–११, १२, १३ र १४ वडाका भूकम्पपीडित परिवारलाई राहत सामग्री वितरण गरिने उनले जानकारी दिए । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति ब्यहोर्नुपरेको छ । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।