भाटभटेनी सुपरमार्केटको वार्षिक आम्दानी पौने ३० अर्ब, १० प्रतिशतको वृद्धि

0
Shares

नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो सुपरमार्केट चेन–भाटभटेनी सुपरमार्केटको वार्षिक सञ्चालन आम्दानी २९ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २६ अर्ब ९३ करोड सञ्चालन आम्दानी गरेको भाटभटेनी सुपरमार्केटको सञ्चालन आम्दानी गत आव (२०७९/८०) मा १०.२८ प्रतिशतले बढेर २९ अर्ब ७० करोड पुगेको हो ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै त्यसको सकरात्मक प्रभाव कम्पनीका अन्य वित्तीय सूचांकहरुमा समेत देखिएको छ । ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १२.५३ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा १०.९० प्रतिशत थियो ।

सन् १९९२ मा स्थापना भएको भाटभटेनी सुपरमार्केट एन्ड डिर्पाटमेन्टल स्टोर प्रालिका संस्थापक मीन बहादुर गुरुङ हुन् । उनको कुशल नेतृत्वमा हाल भाटभटेनी सुपरमार्केटका देशभर २४ वटा आउटलेट सञ्चालनमा छन् भने ३ वटा आउटलेट सञ्चालन हुने तयारीमा छन् । भाटभटेनी सुपरमार्केटमा मीन बहादुर गुरुङ र उनकी श्रीमती सावित्री घले गुरुङको क्रमश ६० प्रतिशत र ४० प्रतिशत सेयर हिस्सा रहेको छ ।

कम्पनीले १२ अर्ब ८७ करोड ६ लाख बराबरको कर्जाका लागि रेटिङ समीक्षा गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले ५ अर्ब २५ करोड ८१ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ७ अर्ब ६१ करोड २५ लाख बराबरको अल्पकलाीन कर्जाका लागि ए४ रेटिङ पुनःपुष्टि गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार, भाटभटेनी सुपरमार्केटले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.९५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।