चितवनमा उत्पादित १३ सय माला र २ क्विन्टल खुद्रा फूल हङकङ निर्यात


चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ। कालिका नगरपालिका-२ पदमपुरका ३ जना दाजुभाइले उत्पादन गरेको १ हजार ३ सय माला र २ क्‍विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । उनका अनुसार ३ लाख बराबरको माला निर्यात भएको छ ।

‘८ सय वटा सयपत्री र ५ सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत २ क्‍विन्टल निर्यात गरेका छौँ,’ बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।’

उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए। ‘अहिले हङकङ निर्यात गरेका छौँ,’ उनले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए ।

‘हामीले गत वर्षदेखि १२ महिना नै फूल खेती गर्छौँ। माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ,’ उनले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’

३ भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष १२ हजार माला र ८ क्‍विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ। यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितले बताए। बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।

‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ,’ उनले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ।’ उनीहरुले फूल खेती सुरु गरेको ४ वर्ष भयो। कोरोना माहामारीपछि फूल खेती सुरु गरेका ३ दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

भारतको कोलकातादेखि एक लाख रुपैयाँ बराबरको बीउ ल्याएर ३ बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका २ जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौंबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए। हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।

‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ,’ उनले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’

फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए ।

चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।

‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौँ।’

नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए। अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए ।

‘गत आर्थिक वर्षदेखि फूलखेती प्रवर्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ। एउटा बिरुवा उत्पादन गर्न साढे २ रुपैयाँ लाग्दो रहेछ। त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ,’ उनले भने ।

चितवनमा ५० बिघामा फूलखेती भएको छ। चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब १ सय जनाको हाराहारीमा किसान छन्। -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।