एक सय रोपनी बाँझो जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती


गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेको हो ।

अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए । वार्षिकरूपमा एक लाख ५० हजार रुपैयाँमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ ।

यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेको छ । “अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, आफैँले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ”, उनले भने ।

करिब चार लाख रुपैयाँ लगानीमा सुरु गरेको अकबरे खुर्सानी खेतीबाट वार्षिक ३७ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने अनुमान रहेको उनले बताए । “बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ”, उनले भने, “उत्पादन सुरु भएपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ ।” उनले चार जनालाई फार्ममा रोजगारीसमेत दिएको छ ।

उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उनले बताए । “प्रतिकिलो बजारमा न्यूनतम दुई सय ५० रुपैयाँमा सजिलै बिक्री हुन्छ”, उनले भने, “रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ ।”

किसान भट्टले आफूले उत्पादन गरेको खुर्सानी चितवनस्थित अचार उद्योगहरूमा धेरै बिक्री हुने बताए । त्यसबाहेक जिल्लाभित्रका गोरखा सदरमुकाम, काठमाडौँको कालिमाटी, तनहुँको खैरेनीटार, पोखरा,लगायतका क्षेत्रमा पनि बिक्री हुने गर्दछ । उनले कृषि ज्ञान केन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरी उक्त ठाउँमा अकबरे खुर्सानीको खेती सुरु गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।