नेप्से १९ सयको लाइनमा उक्लिँदा २ अर्ब बढीको कारोबार

0
Shares

सेयर बजारमा उत्साह फर्किदा नेप्से सूचक पुन १९ सय अंक माथि उक्लिएको छ । आइतबार नेप्से सूचक ४७.७५ विन्दुले बढेर १९०७.९५ अंकमा पुगेको हो ।

यस दिन नेप्सेमा २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । गत असोज ९ गते २ अर्ब ९ करोड बराबरको सेयर कारोबार भएकोमा दुई महीनापछि आज कारोबार २ अर्ब १ नाघेको हो । यसदिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

आइतबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्सको सबैभन्दा धेरै ११ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको कारोबार रकम ७ करोड नाघेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।