राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गर्न कन्जुस्याई गर्दा ट्रेजरीको ब्याजदर घट्यो

0
Shares

सरकारले आन्तरिक ऋणको भुक्तानी नगरेपछि सोमबार नविकरण भएको ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट एक प्रतिशत विन्दुले घटेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्न कन्जुस्याई गर्दा डिस्काउन्ट रेट घटेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा निक्षेप संकलन उपकरणको दर ४.५ प्रतिशत कायम गरेको छ । त्यसैगरी अन्तर बैंक ब्याजदर निक्षेप संकलन उपकरण भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्ने व्यवस्था मौद्रिक नीतिमा छ । तर, केन्द्रीय बैंकले सो अनुसार निक्षेप संकलन उपकरण जारी गरेन ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी नगरेपछि बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता ट्रेजरी बिल्समा लगानी भयो । अधिक तरलता भएको अवस्थामा उच्च प्रतिस्पर्धा भएसंगै सोमबार ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्न पुगेको हो ।

रेमिट्यान्स आप्रबाहमा सुधार भएसंगै बैंक वित्तीय संस्थामा कर्जाको माग बढ्न नसकेपछि वित्तीय प्रणालीमा अधिक तरलता भएको हो । त्यसका साथै अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि कर्जाको माग बढ्न नसकेको हुँदा तरलता अधिक देखिएको हो । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था भएपनि ब्याजदर भने आशा गरे अनुसार घट्न सकेको छैन ।

पछिल्लो समयमा अल्पकालिन दरहरु भने घटेका छन् । पछिल्लो समयमा अन्तर बैंक दर २ प्रतिशतमा आएको छ । त्यसैगरी ट्रेजरीको डिस्काउन्ट रेट पनि १.७५ प्रतिशतसम्म झरेको अवस्था छ । त्यतिमात्र नभई केन्द्रीय बैंकले अधिक तरलता खिच्नका लागि जारी गरेको निक्षेप संकलनको ब्याजदर पनि १.९६ प्रतिशत कायम भएको छ ।

सोमबार निष्कासन भएका २८ दिने, १८२ दिने र ३६४ गरी कुल १८ अर्ब करोडको ट्रेजरी बिल्स सबैको डिस्काउन्ट रेट घटेको छ । सोमबार निष्कासन भएको ५ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट १.७५३५ प्रतिशत कायम भएको छ । यो औसत दर मंसिर ५ गतेको भन्दा थोरै हो । मंसिर ५ गते २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट २.४७७३ प्रतिशत रहेको थियो।

त्यसैगरी ६ अर्ब रुपैयाँ बरावरको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.८७७१ प्रतिशत कायम भएको छ । यो रेट मंसिर ५ गतेको तुलनामा थोरै हो । मंसिर ५ गते १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ४.६२९३ प्रतिशत रहेको थियो ।

सोमबार निष्कासन भएको ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ४.६२२९ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट कात्तिक १४ गते निष्कासन भएको ट्रेजरीको तुलनामा थोरै हो । कात्तिक १४ गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.७०२७ प्रतिशत थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।