बुधबार चार कम्पनीको लाभांश अनुमोदन हुँदै

0
Shares

नेप्सेमा सूचीकृत चार कम्पनीहरुले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पुस २३ गते आज (बुधबार) अनुमोदन गर्दैछन्।  साधारण सभा सम्पन्न गरेर बुधबार लाभांश अनुमोदन गर्न लागेका कम्पनीहरुमा एभरेष्ट बैंक, आरएमडिसी लघुवित्त, नेपाल ल्यूब आयल र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी गरि कूल ४ कम्पनी रहेका छन्।

एभरेष्ट बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश गरि कूल २५ प्रतिशत लाभांश अनुमोदन गर्दैछ । बैंकले लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजे पच्चिसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त लाभांश पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

आरएमडिसी लघुवित्तले १२.५० प्रतिशत बोनस र सोही अनुपातमा नगद गरि २५ प्रतिशत लाभांश अनुमोदन गर्दैछ। कम्पनीले लाभांश अनुमोदनका लागि अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे २१ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त लाभांश पुस १० गतेसम्म नेप्सेमा शेयर खरीद गरि कायम रहेका शेयरधनी मात्र पाउनेछन्।

नेपाल ल्यूब आयलले पनि गत आवको मुनाफाबाट प्रस्ताव गरेको ३० प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ। यसका लागि कम्पनीले याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे २८ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त लाभांश पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

अरुण भ्याली हाइड्रोपावरले पनि आजै बाईसौँ वार्षिक साधारण सभा सम्पन्न गर्दैछ। कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र सोको करका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुने सभाले अनुमोदन गर्ने उक्त लाभांश पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

हरेक कम्पनीको लाभांश सो कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि तोकेको बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले मात्र पाउने गर्दछन् भने यसरी कायम हुन आएका शेयरधनी मात्रै साधारण सभामा प्रतिनिधित्व जनाउन योग्य हुन्छन्।