धितोपत्र बोर्डको कामकारबाहीप्रति नेप्सेका कर्मचारी पनि असन्तुष्ट

0
Shares

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कामकारबाहीप्रति नेप्सेका कर्मचारीहरुले पनि असन्तुष्टि जनाएका छन।

नेप्से कर्मचारीले संघले आइतबार एक विज्ञप्ति जारी गर्दै बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र दिने बिषयमा बोर्डको नेतृत्व र विभिन्न व्यापारीक स्वार्थ समूहहरु बिच आर्थिक मिलेमतो रहेको भनि विभिन्न सञ्चार माध्यमहरुमा निरन्तर समाचार प्रकाशित हुदै आएकोमा त्यसको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग राखेको छ । साथै त्यसले दोस्रो बजारमा समेत असर पारेको संघको भनाई छ ।

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले गत शुक्रबार मात्रै विज्ञप्ति निकालेर बोर्डका निर्णय पारदर्शी नभएको, सार्वजनिक निष्कासनमा बारम्बार विवाद भइरहेको लगायत समाचार आइरहँदा पनि बोर्डको नेतृत्वले खण्डन समेत नगरेको आरोप लगाएको थियो । संगठनले बोर्डलाई व्यापारिक समूह तथा तिनका बिचौलियाको प्रभावबाट जोगाउन र कर्मचारीको पेसागत हकहितको सुरक्षार्थ सम्बद्ध पक्षलाई संगठनले आग्रह गरेको थियो ।

धितोपत्र बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा बिचौलियाको प्रभावबाट जोगाउन कर्मचारीको अपील

नेपाल धितोपत्र बोर्डका कर्मचारीले आफ्नो नेतृत्व माथि सञ्चार माध्यममा प्रश्न उठेको भन्दै त्यसको जाँचबुझ गर्न माग गरे लगत्तै नेपाल स्टक एक्सचेन्जका कर्मचारीले समेत त्यसमा साथ दिएका हुन ।

“नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनको लागि नयाँ स्टक एक्सचेन्जलाई इजाजत पत्र दिने विषयमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहहरूबीच आर्थिक मिलेमतो रहेको भनी विभिन्न राष्ट्रिय स्तरका प्रतिष्ठित सञ्चार माध्यमहरूमा निरन्तर समाचार प्रकाशित हुँदै आएको सबैमा सर्वविदितै छ। जसका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा समेत नकारात्मक प्रभाव परेको हुँदा यस सम्बन्धमा नेपाल सरकार, सम्बन्धित निकाय एवम् सरोकारवाला पक्षबाट निष्पक्ष, सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गर्दछौ,” नेप्से कर्मचारी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।