गुगलको नयाँ एआई टुल ‘जेमिनी’ को विज्ञापन भिडियोमा इडिट धेरै

0
Shares

गुगलले हालै लन्च गरेको आर्टिफिसीयल इन्टेलिजेन्स टूल ‘जेमिनी’ को विज्ञापन भिडियोमा धेरै इडिटीङ भएको पाइएको छ ।

पछिल्लो वर्षमा चर्चा बटुलेको एआई टुल ‘च्याटजीपिटी’ को ‘जीपिटी ४’ मोडलसँग प्रतिष्पर्धा गर्ने उद्देश्यका साथ लन्च गरिएको उक्त मोडलका केही विशेषताहरु देखाउन निर्माण गरिएको भिडियो इडिट गरेको गुगल आफैले स्वीकार गरेको छ ।

जीपिटी–४ को तुलनामा ‘जेमिनी’ निकै शक्तिशाली हुने गुगलको दाबी छ । तीन दिन अघि गुगलको युटुब च्यानलमा पोस्ट गरिएको भिडियोमा जेमिनीका विशेषताहरु उल्लेख गरिएको छ । तीन दिनमा नै उक्त भिडियो २१ लाख मानिसहरुले हेरी सकेका छन् ।

गुगलले जेमिनीलाई धेरै प्रम्ट (एआईलाई सोधिने प्रश्न) दिएको तर भिडियोमा प्रम्ट कम दिएको जस्तो देखाउदै भिडियोमा गुगलले चलाखी गरेको छ । उक्त भिडियोमा जेमिनीले ६ थरीका भाषामा जवाफ दिन सक्ने, वस्तु देखेका आधारमा चिन्न सक्ने, कुनै तस्वीरलाई टेक्स्टमा र टेक्स्टलाई तस्वीरमा उतार्न सक्ने, आफ्नो बुद्धिमताको प्रयोग गरी लोजिकल जवाफ दिन सक्ने र सांस्कृतिक विविधताका विषयमा राम्रो ज्ञान भएको देखाइएको छ ।

जेमिनीले तस्वीरको प्रयोग गरी उक्त तस्वीरमा खेल्न सकिने खेलको बारेमा समेत उल्लेख गरेको छ । यसरी च्याटजिपिटीको मोडल ‘जिपीटि ४’ को तुलनामा जेमिनी धेरै सिर्जनशील भएको देखाइएको छ । जेमिनीले अङ्ग्रेजी भाषाका साथै स्पेनीस, फ्रेन्च, कोरीयन, जापानीज र मान्डारीन भाषामा जवाफ दिन सक्षम छ ।

सन् २०२२ को नोभेम्बर ३० मा ओपनएआईले च्याटजीपिटी नामक एआई लन्च गरेदेखि गुगल, माइक्रोसफ्ट लगायतका अन्य आइटी कम्पनीहरुले च्याटजीपिटीसँग प्रतिस्पर्धा गर्न विभिन्न एआई लन्च गर्दै आएका छन् । च्याटजीपिटीसँग प्रतिस्पर्धा गर्नका लागि गुगलले सन् २०२३ को मार्च २१ मा गुगल बार्ड समेत लन्च गरेको थियो। तर बार्डले च्याटजीपिटीसँग प्रतिष्पर्धा गर्न सकेन ।

जसकारण गुगलले नयाँ एआई टुल जेमिनी लन्च गरेको छ । ब्रह्माण्डका कुल ८८ नक्षत्र मध्ये गुगलले ‘जेमिनी’ नक्षत्रबाट आफ्नो नयाँ एआई टुलको नामाकरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।