विदेशी मुद्राको कारोबार गर्ने क्यासिनोलाई इजाजतपत्र शुल्क एक लाख, २५ लाख धरौटी

0
Shares

नेपालभित्र क्यासिनो सञ्चालन गर्नेहरुले विदेशी मुद्राको कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ दोस्रो संशोधन मार्फत् यस्तो व्यवस्था गरेको हो। केन्द्रीय बैंकले विदेशी विनिमय कारोवार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली लागू गरेको हो।

यसबाट विदेशी मुद्राको कारोबार गर्न चाहिने क्यासिनोले प्रति कारोवार स्थानका लागि २५ लाख रुपैयाँ बराबरको २ वर्ष अवधिको बैंक जमानत राख्नुपर्ने छ। त्यस्तै इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ तिर्नुपर्छ।

तर, आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोवार स्थानको लागि १० लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ। यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

क्यासिनोले इजाजतपत्रको म्याद समाप्त हुनु अगावै नवीकरण शुल्क एक लाख रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरेको भौचर आवश्यक कागजातहरू सहित नवीकरणको लागि निवेदन दिनु पर्नेछ । तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा नवीकरण शुल्कवापत पचास हजार रूपैयाँ राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ ।

यस भन्दा अगाडि इजाजतपत्र प्राप्त गरिसकेका क्यासिनोहरूले नविकरणको लागि निवेदन पेश गर्दा विनियम १४ बमोजिमको बैंक जमानत पेश गर्नुपर्नेछ।

तोकिएको म्यादभित्र नवीकरण नगराएमा म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणको लागि निवेदन दिएमा नवीकरण शुल्कको दोब्बर रकम लिई इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।