इराकी राष्ट्रपतिद्वारा इराकी सैन्य शिविरमा भएको आक्रमणको आलोचना

0
Shares

इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आक्रमणको भत्र्सना गरेका छन्। उनले मध्यपूर्वमा विकसित ‘खतरनाक घटनाक्रम’प्रति चिन्ता प्रकट गरेका छन्।

इराकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इराकी भूमिमा रहेका सैनिक शिविरमा इरानद्वारा गरेको क्षेप्यास्त्र आक्रमणको हामीले कडा शब्दमा निन्दा गर्छौँ। हामीले सार्वभौम इराकी भूमिमा भएका र हुनसक्ने सबैप्रकारका कानून उल्लङ्घनका घटनाप्रति फेरि एक पटक सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

“रणभूमिमा रूपान्तरण गर्नेगरी भएका आक्रमण र सम्भावित आगामी गतिविधिप्रति इराक गम्भीर विरोध जनाउँछ।”

गत शुक्रबार इराकको राजधानी बग्दादमा इरानी विशेष सुरक्षा बल कुड्सका प्रमुख जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको र मङ्गलबार उनको अत्येष्टि गरिएको थियो ।

इरानी जनरल अमेरिकी आक्रमणमा मारिएको बदलामा इरानले बुधबार बिहानै दर्जनभन्दा बढी क्षेप्यास्त्र अमेरिकी सैनिक रहेको इराकी शिविरमा लक्षित गरी आक्रमण गरेको थियो ।

इरानले उक्त आक्रमणमा करिब ८० अमेरिकीको मृत्यु भएको दावी गरेको छ । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।  अमेरिकी राष्ट्रपतिले क्षेप्यास्त्र आक्रमणबाट आफ्ना नागरिकलाई केही नभएको तर यस सम्बन्धमा बिस्तृत विवरण दिन बुधबार एक विज्ञप्ति जारी गर्ने बताएका छन्।

इरान अमेरिकासँग पछि हट्दैन :राष्ट्रपति रौहानी

उता इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताएका छन् । राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने “यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ ।”

“उनीहरूले बुद्धि पुर्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,” उनले थपे।

आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाई आएको हो।

रूहानीले भने, “यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन। मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ।”

अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आएका छन्।

रौहानीले भने “अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए। यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो ।”