नेपालीहरुको महान चाड बडा दसैं तथा तिहारका कारण बीमा कम्पनीहरुको शाखा पनि बन्द रहँदा कार्तिक महीनामा बीमा कम्पनीहरुको बीमालखको समर्पण संङ्ख्या र रकम पनि घटेको छ । यसअघि चालु आर्थिक वर्षको पहिलो तीन महीनामा करिब सवा अर्ब रुपैयाँ मूल्यको बीमालेख समर्पण हुने गरेकोमा कार्तिकमा भने त्यो अनुपात घटेर साढे ७९ करोडमा झरेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको प्रथम चौमाससम्ममा ४ अर्ब ४४ करोड ३२ लाख ४३ हजार ९०० रुपैयाँ बराबरका ३५ हजार २११ वटा बीमालेख त्याग भएका छन् । जसअनुसार कार्तिक महीनामा ७९ करोड ४९ लाख ८९ हजार मूल्यको ६ हजार ९१ वटा बीमालेख सरेण्डर भएका छन् । यसअघि असोजमा १ अर्ब १८ करोड २९ लाख ९ हजार रुपैयाँ मूल्यका ९ हजार ९३६ वटा, भदौमा १ अर्ब १८ करोड २० लाख ७ हजार मूल्यको ९ हजार ३८६ वटा र साउनमा १ अर्ब २८ करोड ३३ लाख ३८ हजार ९०० रुपैयाँ बराबरका ९ हजार ७९८ वटा बीमालेख बीमालेख सर्मपण भएका थिए ।
चालु आर्थिक वर्षको चौथो महीनामा १ अर्ब ९० करोड ४० लाख ६४ हजार रुपैयाँ नयाँ बीमा व्यवसाय भएकोमा उक्त अवधीमा ७९ करोड ४९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको देखिएको हो । नयाँ व्यवसायको ४० प्रतिशतभन्दा बढी (४०.७५ प्रतिशत) बीमा सरेन्डर हुनुले कम्पनीहरुको दीगोपनामा गम्भिर असर पर्न सक्ने देखिएको छ । कार्तिकमा नवीकरण बीमाशुल्क सहित कुल ८ अर्ब ६३ करोड ४६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

नेपाल बीमा प्राधिकरणका अनुसार कार्तिकमा ६ हजार ९१ वटा बीमालेख त्याग भएकोमा पुराना र ठूला कम्पनीहरुमा नै बीमा पोलिसी त्याग्ने बीमितहरुको संख्या पनि उच्च छ । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार कार्तिकमा बीमितहरुले त्याग गरेका बीमालेखमध्ये नेपाल लाइफ इन्स्योरेन्समा मात्रै १७ सय ७७ वटा बीमालेख त्याग भएका छन् । यस अवधिमा कम्पनीको २६ करोड ४३ लाख २९ हजार रुपैयाँ बराबरको बीमालेख त्याग भएका छन् । यो कार्तिकमा समर्पण भएको रकमको एक तिहाइभन्दा धेरै हो ।
यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालमा पनि १७ करोड ४५ लाख २१ हजार रुपैयाँ बराबरका १ हजार १५५ वटा बीमालेख सरेण्डर भएका छन् । एशियन लाइफ इन्स्योन्सको कार्तिकमा १२ करोड १९ लाख १८ हजार रुपैयाँ बराबरको ९८७ वटा बीमा पोलिसी समपर्ण (सरेण्डर) भएका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार कार्तिकमा त्याग भएका बीमा पोलेसीको आधारमा नेशनल लाइफ चौथो स्थानमा रहेको छ । यस कम्पनीमा कार्तिकमा ६ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको ३९१ वटा सरेण्डर भएका छन् । यसैगरी राष्ट्रिय बीमा संस्थानमा ४ करोड ६० लाख ५८ हजार रुपैयाँ बराबरका ४५० वटा, हिमालयन लाइफ इन्स्योरेन्समा ४ करोड २६ लाख ३६ हजार रुपैयाँ बराबरका ४७७ वटा, सूर्यज्योति लाइफ इन्स्योरेन्समा २ करोड ८४ लाख ९३ हजार रुपैयाँ बराबरका १९७ वटा र मेट लाइफमा १ करोड ३७ लाख ८२ हजार रुपैयाँ बराबरका १६४ वटा बीमालेख सरेण्डर भएका छन् ।
यसैगरी कार्तिकमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरेका ९३ बीमितहरुले ९७ लाख ५ हजार रुपैयाँ बराबरको बीमालेख समर्पण गरेका छन् । यसैगरी यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्समा ८३ लाख २३ हजार रुपैयाँ बराबरका १५३ वटा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा कार्तिकमा ६८ लाख ५५ हजार रुपैयाँ बराबरका ५८ वटा, सन नेपाल लाइफमा ६० लाख ५५ हजार रुपैयाँ बराबरको ५१ वटा, आइएमई लाइफ इन्स्योरेन्समा ४८ लाख ५० हजार रुपैयाँ बराबरको ६५ वटा र सबैभन्दा कम रिलायबल नेपाल लाइफमा ४० लाख ८७ हजार रुपैयाँ बराबरको ७३ वटा बीमालेख समपर्ण/ त्याग (सरेण्डर) भएको प्राधिकरणको तथ्याङ्क छ ।
बीमालेख समर्पण के हो ?
बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई बीमालेख समर्पण (त्याग/सरेन्डर) भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । प्राधिकरणको पछिल्लो व्यवस्था अनुसार बीमा गरेको न्यूनतम ३ वर्षपछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ ।
यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । पछिल्लो अवधि (परिपक्वता) नसकिँदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।
प्राधिकरणका अनुसार देशमा उत्पन्न भएको आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको जनाएको छ । बीमालेख नवीकरणमा अभिकर्ताको प्राथमिकता कम पर्दा तत्कालको लागि कुनै समस्या नदेखिए पनि दीर्घकालीन रुपमा यसको असर जटिल देखिने जानकारहरुको भनाई छ ।

बीमालेख सरेन्डर गर्ने दर बढेसँगै एकल बीमालेखमा कडाई गर्दै प्राधिकरणले सरेन्डरको विषयमा नयाँ व्यवस्था गरेको हो । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पोलिसी सरेण्डरमा नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।










प्रतिक्रिया