आठ उपसूचक ऋणात्मक बन्दा नेप्सेमा दोहोरो अंकको पहिरो

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ। करेक्शनको क्रममा रहेको नेप्से आइतबार १६.७१ अंकले तल झरेको हो । पछिल्लो चार कारोबार दिनमा सूचक ३६.८२ अंकले ओरालो लागेको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्सेले १२ बजेपश्चत २ बजेसम्म केही सम्हालिन खोजेपनि अन्तत अझ घटेर बन्द भएको हो। यससँगै नेप्से १२७७.६८ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३।८६ अंकले घटेर २७३.९६ अंकमा ओर्लिएको छ ।

आइतबार १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयर ६५ करोड ३ लाख रुपैयाँमा खरिद बिक्री भए । सूचक ठूलो अंकले घटेपनि अघिल्ला दिनको तुलनामा कारोबार रकममा भने ७ करोड २५ लाखले सुधार आएको छ । गत बिहीबार ५७ करोड ७८ लाखको कारोबार भएको थियो।

कारोबारमा आएका दश उप सूचकमध्ये वाणिज्य बैंक सहित आठ उपसमुहमा गिरावट आउँदा समग्र नेप्से धरासायी बनेको हो ।

उत्पादन र अन्य उप समूह मात्र सकारात्मक रह्यो । जलविद्यु्त सबैभन्दा धेरै ४ प्रतिशत बढीले घटेको बजारमा वाणिज्य बैंक, विकास बैंक, होटल, जीवन बीमा र लघुवित्तको इन्डेक्स पनि एक प्रतिशत बढीले ऋणात्मक बनेको छ । उत्पादन ०.९६ र ०.१६ प्रतिशतले सकारात्मक रह्यो।

आइतबार वाणिज्य बैंकहरुको अधिक शेयर कारोबार भएको छ । शिर्ष १० कम्पनीको सूचीमा ८ वाणिज्य बैंक छन् ।

मल्टिपर्पोज फाइनान्सको सबैभन्दा धेरै दश प्रतिशतले शेयरमूल्य बढेको बजारमा युनाइटेड फाइनान्स, शिवम् सिमेन्टस्को शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको हो । आइतबार २७ वटा कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ ।

उता चिलिमे हाइड्रोपावरको शेयरधनीले सबैभन्दा धेरै ७.६३ प्रतिशतले आइतबारको बजारबाट गुमाएका छन् ।

तेस्रो त्रैमासिक वित्तीय विवरणको प्रभाव कम्पनीको शेयरमूल्यमा देखिएको हो । एनआईबिएल समृद्धि फण्ड , अरुण भ्याल्ली हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत धेरै घटेको छ ।

 

 

 

 

प्रकाशित मिति: २२ वैशाख २०७६, आइतबार  १७ : ३९ बजे