घलेम्दी हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद थप


घलेम्दी हाइड्रो लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीको हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सो हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यसका साथै कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।