फोहोर व्यवस्थापन परम्परागत होइन आम्दानीको स्रोत एवं रोजगारीसँग जोडेर जानुपर्दछ : प्रधानमन्त्री

0
Shares

धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेष्ठ स्थानीय तहको रूपमा रहेको ललितपुर महानगरपालिकाले नगरपालिका स्थापनाको १०५ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरबासीहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू लगायत सम्बद्ध सबैमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

फोहोर संकलन गर्ने अड्डाको रूपमा वि.सं. १९७५ मा छेमडोल अड्डाको नामबाट स्थापना भई आज महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल यस महानगरपालिकाको आफ्नै गौरवपूर्ण इतिहास छ ।

वार्षिकोत्सवको यस सन्दर्भमा महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु ।

उज्यालो तथा हरियालीको प्रवद्र्धन गर्दै ‘‘स्मार्ट शहर’’ को रूपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरू सह्रानीय छन् । यी कार्यहरू राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको छु । यसका निम्तिसमेत सिङ्गो महानगर परिवारमा बधाइ ज्ञापन गर्दछु ।

खासगरी काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।

फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ । तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।

खानेपानी समस्याको निराकरणका लागि पनि सङ्घीय सरकार यहाँहरूकै साथमा रही नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिवद्ध छ । त्यस्तै भौतिक एवं मानवीय विकासका अन्य पक्षमा पनि सङ्घीय सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने नै छ ।

त्यस्तै नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य वीमा कार्यक्रमलाई अपनत्व लिँदै महानगरले आजदेखि शुभारम्भ गरी कार्यान्वयनमा ल्याएकोमा म ज्यादै हर्षित् छु । यस कार्यक्रम प्रभावकारी रूपमा सम्पूर्ण नगरबासीसम्म बिस्तार हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

खासगरी सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिनेछ । सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने कुरा पनि म तपाईहरूलाई विश्वास दिलाउँछु ।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्दछ । समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी र जवाफदेहिता पूरा गर्न सफल भएकोमा म ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसहित सम्पूर्ण परिवारमा धन्यवाद व्यक्त गर्दछु ।

ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन वास्तवमा प्रशंसनीय छ । महानगरपालिकाभित्र पुनर्निर्माण भइरहेका अन्य मठमन्दिर, देवालय, शिवालय यसका ज्वलन्त उदाहरण हुन् । यसलाई पर्यटन प्रवद्र्धन गर्ने तथा संस्कृतिलाई आयआर्जनसँग जोड्ने कुरामा हामीले विशेष ध्यान दिनैपर्दछ । भाषा, कला, संस्कृति, भेषभुषा, खानपान लगायतका क्षेत्रमा हामीसँग जुन विविधता र वैभव छ, त्यसलाई नागरिकको जीवनमा सुधार ल्याउने प्रयोजनका निम्ति व्यवस्थापन र विकास गरेर मात्र हामीले विविधताको संरक्षण र प्रवद्र्धनसमेत गर्न सक्दछौं । यस विषयमा यहाँहरूले गम्भीरतापूर्वक सोच्नुभएकै होला भन्ने मैले विश्वास लिएको छु ।

पूर्वाधार निर्माण मात्रै विकास होइन, जनताको जीवनमा सुखको प्रत्याभूति गराउन सक्ने विकास मात्रै वास्तविक अर्थमा विकास हो । यस सन्दर्भमा ललितपुर महानगरपालिका अग्रणी भूमिकामा पनि छ, आगामी दिनमा समेत यसको निरन्तर विकासको अपेक्षा गर्दछु ।

ललितपुर महानगरपालिकाले एक परिपक्व, बौद्धिक, अनुभवी, मिलनसार र सिर्जनशील नेतृत्व प्राप्त गरेको छ । महानगरको विकासमा मेयर चिरीबाबु महर्जनले जसरी पहल लिँदै आउनुभएको छ, त्यो आफैमा महत्वपूर्ण छ । महानगरको विकासमा सबै विचार, भावना र समूहलाई संयोजन गरेर लैजाने उहाँको भूमिकाकै कारण हुनुपर्छ, नीति–कार्यक्रम र बजेट निर्माण र सबैजसो निर्णयमा महानगर विवादरहित ढङ्गले अगाडि बढिरहेको छ । यो आफैमा खुसीको कुरा पनि हो ।

१०५ औं स्थापना दिवसको अवसरमा म ललितपुर महानगरपालिकाको नेतृत्व लगायत सम्पूर्णलाई समावेशी, समता र न्यायपूर्ण ढंगबाट आफ्ना गतिविधि र कार्यक्रमलाई अघि बढाउन थप उत्प्रेरणा र उर्जा प्राप्त होस् भन्ने कामना गर्दछु ।

अन्त्यमा, महानगरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता र एकता रहनेछ भन्ने अपेक्षाका साथ पूर्वाधार विकास, मानवीय विकास र सुशासनको प्रवद्र्धनमा महानगरका हरेक सकारात्मक प्रयासहरूमा नेपाल सरकारको साथ र सहयोग रहने विश्वास दिलाउँछु । र, फेरि एकपटक तपाईहरू सबैमा बधाइ तथा शुभकामना व्यक्त गर्दै विदा हुन्छु ।

(ललितपुर महानगरपालिकाको १०५औ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको को सम्बोधन)

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।