बढ्दो बजारलाई कारोबार रकमको बलियो साथ, एकैदिन झण्डै ७ अर्बको किनबेच

0
Shares

गत सातादेखि बढ्न थालेको नेप्से यो साताको दोस्रो कारोबार दिन सोमबा ३८.१४५ अंकले बढेर २०६०.४९ विन्दुमा उक्लिएको छ । पछिल्लो ५ कारोबार दिनमा नेप्सेमा आएको सुधारसँगै कारोबार रकममा समेत बढोत्तरी आउन थालेको छ ।

सोमबारको बजारमा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। आइतबार नेप्सेमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबार भएकामध्ये १६५ कम्पनीको सेयरमूल्य बढेको छ भने ७२ कम्पनीकोे घट्दा ५ वटाको स्थिर रहेको छ ।यस दिनको बजारमा अधिकांश लघुवित्त कम्पनीहरुको सेयरमूल्य उच्च दरमा बढेको छ ।

यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।सेयर बजारमा उत्साह देखिएको छ ।

यस दिन बोटलर्स नेपाल, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।