देउराली जनता फारामास्युटीकल कम्पनीको आम्दानी पौने २ अर्ब

0
Shares

औषधी उत्पादन क्षेत्रमा नेपालको सबैभन्दा पुरानो देउराली जनता फारमास्युटीकल प्रालिले आर्थिक वर्ष २०२३ मा १ अर्ब ८६ करोड ३५ लाख सञ्चालन आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ७० करोड ५५ लाख सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा कम्पनीको सञ्चालन आम्दानी ९.२६ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांक समेत सकरात्मक देखिएका छन् । आव २०२३ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको २१.७ प्रतिशत रहेको छ जुन गत आवमा १९ प्रतिशत थियो ।

सन् १९९१ मा स्थापना भएको कम्पनीले हाल विभिन्न विधाका २५० औषधीहरु उत्पादन गरिरहेको छ । कम्पनीले जेनरल मेडिसीनका साथसाथै कार्डियोभ्यासकुलर, डायबेटिक, ग्याइनेकोलोजी, चाइल्डकेयर, गयास्ट्रोलोजी, डरमेटोलोजी र हेपाटोलोजी सेग्मेन्टमा औषधी उत्पादन गरिरहेको छ ।

कम्पनीको कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्मा रहेका छन् । कम्पनीमा उनको र उनका परिवारका सदस्यहरुको लगानी रहेको छ ।

कम्पनीले १ अर्ब १७ करोड ५६ लाख बराबरको कर्जाका लागि साख मूल्याकंन गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १४ करोड बराबरको दीर्घकालीन कर्जाका लागि ए माइन्स र १ अर्ब ३ करोड २५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए२ प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ७.३ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।