परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई उद्योगमन्त्रीको निर्देशन, ‘नगरे बाहिरिन सक्नुहुन्छ’


उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका बिभिन्न सार्वजनिक निकायका प्रमुखहरु माझ खरो रूपमा प्रस्तुत हुदै यस्तो निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । “कानुन विपरित जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्,” मन्त्री रिजालले निर्देशन दिँदै भने, “आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी ईमान्दारीका साथ् काम गर्नुहोस, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।”

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेतगरेका थिए । यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भने, “‘तपाईंहरुको कामबाट म खुसी छैन, ईमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस । विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पुरा गर्नुस।”

ऐनकानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने भन्दै कहीं पनि ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।

आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको खर्चमा चालु तर्फ ३१ दशमलव शुन्य दुई प्रतिशत अर्थात १ अर्ब ५० करोड ३२ लाख रुपैंया, पुँजीगत तर्फ ३ दशमलव शुन्य छ प्रतिशत अर्थात १० करोड १० लाख रुपैंया गरी कुल १९ दशमलव ७ एक प्रतिशत अर्थात १ अर्ब ६० करोड ४२ लाख रुपैंया खर्च भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।