नाडा अटोमोवाइल्सले सहमतिमा पायो नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्ष पद बनाइयो


सवारीसाधनका व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले सहमतिबाट नयाँ अध्यक्ष चयन गरेको छ । यद्यपी यही पुस २० र २१ गते हुने ४७ औं साधारण सभाले अनुमोदन गरेपछि मात्र मंगलबार सहमतिले पुर्णता पाउनेछ ।

नाडा अध्यक्ष ध्रुब थापाका अनुसार मंगलबारको सहमति अनुसार करण चौधरीले नाडाको नेतृत्व सम्हाल्ने छन् भने अर्का आकांक्षी आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष हुने भएका छन् । गोल्छाका लागि वरिष्ठ उपाध्यक्षको नयाँ पद सिर्जना गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष स्वतः संघको अध्यक्ष बन्ने व्यवस्थाबाट गोल्छालाई अर्को कार्यकालमा नाडा अध्यक्ष हुने बाटो बनाइएपछि सहमति जुटेको हो ।

थापाका अनुसार आगामी साधारण सभाले चौधरीलाई अध्यक्ष तथा गोल्छालाई वरिष्ठ उपाध्यक्षमा अनुमोदन गर्नेछ भने अर्को साधारण सभादेखि वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनेछ ।

यसअघि नै अटौ व्यवसायीहरुले सहमतिको प्रयासलाई जोड दिए पनि चौधरी र गोल्छा भने निर्वाचनमा जाने मनस्थितीमा थिए । यसका लागि उनीहरुले प्यानल नै बनाएर अघि बढ्ने तयारी गरिरहदा सर्वपक्षीय पहलबाट सहमति जुटेको हो ।

सीजी होल्डिङ्सका करण चौधरी अध्यक्ष पदका लागि निर्वाचनमा जाने मनस्थिती सहित तयारी गरिरहेका थिए भने जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा पनि नेतृत्व आफ्नो पक्षमा पार्न तयारीमा लागेका थिए । यसै बिच सोमबार बसेको अटो व्यवसायीको बैठकले सहमतिबाटै नयाँ अध्यक्ष चयन गर्ने निष्कर्ष निकालेको थियो । सो निर्णय पश्चात चौधरी र गोल्छालाई एक आपसमा मिलेर को पहिले अध्यक्ष बन्ने सहमति जुटाउन व्यवसायीले समय दिएका थिए । मंगलबार चौधरी र गोल्छाका बिचमा पहिले चौधरी अध्यक्ष हुने र गोल्छा वरिष्ठ उपाध्यक्ष हुँदै अर्को पटक अध्यक्ष हुने सहमति जुटेको हो । पूर्व अध्यक्षहरुसहितको मंगलबारको बैठकमा उनीहरुका बचिमा सहमति जुटेको हो ।

आगामी साधारण सभाले विधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र चौधरी र गोल्छाका बिचमा भएको सहमति कार्यान्वायनमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।