उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा महत

0
Shares

अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए। 
 
मन्त्री डा महतको सचिवालयका अनुसार सो अवसरमा उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे। सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको भनाइ थियो । “व्यवस्थापनमा ध्यान दिनु पर्यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीवोध गर्नुपर्यो । कसैले पनि जिम्मेवारीवोध नगर्दा यो अवस्था सिर्जना भएको हो । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ”, उनले भने।
 
निजी क्षेत्रद्वारा धेरै उद्योग व्यवसाय सञ्चालन भएका उल्लेख गर्दै मन्त्री डा महतले श्रमिकका गुनासा सम्बोधन गर्न जरुरी भएको बताए। उनले भने, “निजी क्षेत्रले आफैँले जमिन किन्छ, उद्योगका संरचना आफैँ निर्माण गर्छ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।”
 
उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा ४४ करोड लगानी गरिएको थियो । अहिले पनि कारखानाले रु एक अर्बको सावाँब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर कारखानाले पूर्ति गर्न सकेको छैन । अहिले कारखानामा ७५ करोडको दायित्व रहेको मन्त्री डा महतले बताए।
 
उनले भने, “सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यावसायिकतालाई हामीले महत्व दिएनौँ । व्यवस्थापनको नेतृत्व पनि कमजोर भयो, श्रमिकले आफ्नो जिम्मेवारी पूरा गरेनन्, सुविधा मात्र माग गर्नमा जोड दिए । त्यही कारणले उद्योगको अहिलेको अवस्था आएको हो ।”
 
कोभिड–१९ भन्दा अगाडिदेखि नै समस्या थपिँदै आएका मन्त्री डा महतको भनाइ थियो । “महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता देखिएन । यसैले सफलता प्राप्त गर्न सकिएन”, उनले भने– “उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले लगानी गर्यो, मित्रराष्ट्रहरुको पनि सहयोग रह्यो । यसलाई निरन्तरता दिन जरुरी छ ।”
 
व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने मन्त्री डा महतको भनाइ थियो । उद्योग बचाउन समयसँगै नयाँ प्रविधिको उपयोग गर्न आवश्यक भएको बताए । उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरे सरकारले सहयोग गर्ने मन्त्री डा महतले बताए।
 
काममा व्यावसायिकता देखिनुपर्ने भन्दै मन्त्री डा महतले भने, “प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबर्जस्ती बचाउन सकिँदैन । यसलाई बचाउन व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता जनाउनु पर्छ । अनी मात्र सरकारले हेर्छ ।” 
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।