नेप्से ४६ अंक माथि उक्लिदा लगानीकर्ताको सम्पत्ति ६० अर्बले बढ्यो

0
Shares

यो साता शेयर बजार परिसूचक नेप्से ४६ अंक माथि उक्लिएर १२१३ अंकमा पुगेको छ । शेयर बजारमा आएको सुधारले लगानीकर्ताको सम्पत्ति झण्डै ६० अर्बले बढेको छ ।

गत साताको बिहीबारसम्म १४ खर्ब ८६ अर्ब ८२ करोड रहेको बजारपूँजीकरण यो साताभर ५९ अर्ब ७५ करोडले बढेर १५ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ । गत बिहीबारको तुलनामा समग्र बजार पूँजीकरण ४.०२ प्रतिशतले बढेको हो ।

वित्तीय प्रणालीमा तरलता सहज हुँदै जादा शेयर बजारमा सुधार आएको हो । पुस मसान्त आउनै लाग्दा बजारले गति लिएपछि शेयर लगानीकर्ताले समेत राहात महशुस गरेका छन् । बजारको वृद्धिले मार्जिन कलको चिन्ता हट्दा शेयरमा लगानी बढेको देखिन्छ । अर्कातर्फ नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जामा कडाई गरेकोपछि बैंकहरुले शेयर कर्जामा लगानी बढाउन थालेका छन् यसले पनि बजारलाई थप गति प्रदान गरेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीले पनि बजार विस्तार र विकासका कामहरुले गति लिने विश्वास लगानीकर्तामा देखिन्छ । पछिल्ला दिनहरुमा विकशित घटनाक्रमहरुले लगानीकर्ताको मनोबल बढ्न जादा यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।

यो साता पनि नेपाल टेलिकमको बजार पूँजीकरण सबैभन्दा उच्च रहेको छ । गत साता ९१ अर्ब ९५ करोड रहेको बजार पूँजीकरण यो साता ९३ अर्ब पुगेको छ । बजार पूँजीकरणको आाधारमा गत साता जस्तै यो साता पनि नबिल बैंक दोस्रो, इन्भेष्टमेन्ट बैंक तेस्रो र नेपाल लाइभ चौथो स्थानमा रहेका छन् । अघिल्लो साता छैठौं स्थानमा रहेको एभरेष्ट बैंक यो साता पाँचौ स्थानमा आएको छ भने एनएमबि बैंक एक स्थान तल झरेर छठौं स्थानमा रहेको छ ।

बजार पूँजीकरण उच्च हुने कम्पनीको सूचीमा यो साता हिमालयन, स्ट्याण्डर्ड चार्टड, एनआईसि एशिया र नेपाल एसबिआई बैंक क्रमश सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् । हिमालयन बैंक एक स्थान माथि उक्लिएको छ भने स्ट्याण्डर्ड चार्टड एक स्थान माथि उक्लिएको छ । बजार पूँजीकरणको आधारमा गत साता दशौं स्थानमा रहेको कृषि विकास बैंक यो साता दश कम्पनीको सूचीबाट बाहिरिएको छ भने एसबिआई बैंक दशौं स्थानमा आईपुगेको छ ।