पाँच महिनामा साढे २४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, १० हजारलाई रोजगारी

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब साढे २४ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्ममा गरेर कुल २४ अर्ब ३५ करोड ७२ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विभिन्न देशबाट १९९ वटा नयाँ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार मंसिरसम्म ३ वटा ठूला, ७ वटा मध्यम र १८९ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको हो ।

साथै, यस अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)/सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत् २१ वटा उद्योगमा ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

मंसिर महिनामा भने २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । मंसिरमा एसपीए र एसएसएमार्फत् ३ वटा उद्योगमा ३० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार मंसिरमा नयाँ उद्योग, एसपीए, एसएसए र टीटीए मार्फत २ अर्ब ५६ करोड १९ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको हो।

पाँच महिनाको अवधिमा लगानी प्रतिबद्धता प्राप्त भएका उद्योगहरुबाट १० हजार १२० जनाले रोजगारी पाउने विभागको भनाई छ।

५ महिनाको अवधिमा व्यवसायिक भिसा मार्फत ८८७ लगानीकर्ता, ८० प्रतिनिधि र १९६ आश्रित लगानीकर्ता नेपाल आएका छन् । त्यसैगरी विज्ञापनका लागि र प्रविधि हस्तान्तरण सम्झौताका लागि एक एक वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म ६ हजार ५८ उद्योगहरुका लागि ४ खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख १९ हजार २ सय १७ जनाले रोजगारी पाउने विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।