एभरेष्ट सुगर मीलको आम्दानीमा निरन्तर गिरावट

0
Shares

चिनी उत्पादक संस्था– एभरेष्ट सुगर एन्ड केमीकल इन्डष्ट्रिजको आम्दानीमा निरन्तर गिरावट आएको छ । आर्थिक वर्ष २०२३ मा कम्पनीले १ अर्ब ३२ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०२० मा ३ अर्ब ४१ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२१ मा घटेर ९३ करोड ५० लाख पुगेको थियो । यस्तै आव २०२२ मा १ अर्ब ३७ करोड १० लाख पुगेको थियो भने आव २०२३ मा पुन ४ करोड ५० लाखले घटेको छ । यसरी पछिल्लो ३ वर्ष यता कम्पनीको सञ्चालन आम्दानी निरन्तर घटेकोे हो ।

कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा बढेको छ । आव २०२२ मा कुल सञ्चालन आम्दानीको १५.३९ प्रतिशत रहेको सो नाफा २०२३ मा १.२९ प्रतिशत विन्दुले बढेर १६.६८ प्रतिशत पुगेको छ ।

सन् १९९४ मा स्थापना भएको एभरेष्ट सुगर एन्ड केमीकल इन्डष्ट्रिज नेपालको निजी क्षेत्रबाट व्यवस्थित सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीको दैनिक ५ हजार ५०० टन उखु पेल्न सक्ने क्षमता रहेको छ । त्यसबाट कम्पनीले रिफाइन्ड तथा डबल रिफाइन्ड सल्फर फ्री सुगर उत्पादन गर्दै आएको छ ।

यसका साथै कम्पनीको ९ मेगावाट विद्युत उत्पादन क्षमताको पावरप्लान्ट रहेको छ। नेपाल विद्युत प्राधिकरणसँग कम्पनीले ३ मेगावाट विद्युतको पावर पर्चेस एग्रीमेन्ट समेत गरेको छ ।

हाल सराफ र अग्रवाल परिवारले कम्पनी सञ्चालन गरिरहेको छ । कम्पनीले २ अर्ब २० करोड ५९ लाख कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १७ करोड ५९ लाख बराबरको कर्जाका लागि डबल बी प्लस र २ अर्ब ३ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता २.४८ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।