फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको पाँच लाख लुटियो

0
Shares

महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीमा कार्यरत एक कर्मचारीका साथबाट पाँच लाख लुटपाट गरेका छन् ।

बर्दिवासस्थित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरुले पाँच लाख नगद र कागजात सहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए। चौधरी को २८ प ६९ नंको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन।

“अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । घटना शुक्रबार साँझ ५ बजे आसपासमा भएको बताइएको छ।