साढे ४ अर्ब लगानीमा निर्माण हुँदै ‘कुमारीपाटी स्क्वायर’, २०२८ देखि सञ्चालनमा

0
Shares

नेपालका आठ व्यवसायिक घरानाहरुको संयुक्त पहलमा ललितपुरको कुमारीपाटीमा ‘कुमारीपाटी स्क्वायर’ निर्माण हुने भएको छ । कुल ४ अर्ब ५६ करोड ७० लाख लगानीमा कुमारीपाटी स्क्वायर कम्प्लेक्स निर्माण हुने भएको हो ।

कम्पनीमा आइएमई ग्रुप, पन्चकन्या ग्रुप, कुमारी होल्डिङ्स, आइएमएस ग्रुप, बृहत ग्रुप लगायतका व्यवसायिक घरानाहरुको लगानी रहेको छ । जसअन्तर्गत कुमारी होल्डिङ्सको ३५ प्रतिशत हिस्सा, आइएमई डेभलपर्सको १५ प्रतिशत, आइएमएस ग्रुपको १५ प्रतिशत हिस्सा रहेको छ ।

सन् २०२८ देखि सञ्चालनमा आउने आकलन गरिएको ‘कुमारीपाटी स्क्वायर’ अर्बान पेन्टागन प्रालिले निर्माण गरिरहेको छ । सुरुवाती चरणमा कर्मेशियल विल्डिङका रुपमा विकास गर्ने भनिएको सो कम्प्लेक्स हाल कर्मेसियल तथा रेसीडेन्सीयल मोडलमा निर्माण भइरहेको छ ।

सुरुवाती चरणमा ९७ हजार ६९५ वर्ग फिट जग्गामा निर्माण हुने भनिएको उक्त कम्प्लेक्सको निर्माण लागत १ अर्ब ७१ करोड ६० लाख हुने घोषणा भएको थियो । तर योजनामा परिवर्तन आएपछि कुमारीपाटी स्क्वायरको लागत खर्च मात्रै होइन जग्गाको क्षेत्रफल समेत बढेको छ ।

हाल उक्त विल्डिङ २ लाख २२ हजार ३२२ वर्ग फीट जग्गामा निर्माण भइरहेको छ। जसअन्तर्गथ १ लाख ५० हजार ५०२ वर्ग फीटमा १२० रिटेल सप सहितको कर्मेशियल कम्प्लेक्स निर्माण हुनेछ भने बाँकी जग्गामा ५५ युनिटको अर्पाटमेन्ट निर्माण हुनेछ ।

अहिलेसम्म लगानीकर्ताहरुले १६ प्रतिशत इक्युटी इन्फ्युज गरेका छन् । कम्प्लेक्स निर्माणका लागि आवश्यक पर्ने कुल लागतको ६७ प्रतिशत हिस्सा कर्जा रहेको छ भने ३३ प्रतिशत सेयरहोल्डरहरुको लगानी रहेको छ ।

कम्पनीले १ अर्ब १२ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ९७ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र १४ करोड ३० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

सन् २०२८ मा सञ्चालनमा आउने भनिएता पनि पछिल्लो समयमा देखिएको मार्केट क्राइसीस र वर्षेनी नीतिहरु परिवर्तन भइरहँदा परियोजनाको सफल कार्यान्वयनमा प्रश्न चिन्ह खडा भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।