चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लकइन अवधि माघ ८ गते समाप्त हुने भएको छ ।

कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दाले लिएको सेयर र कम्पनीका कर्मचारीले लिएको सेयरको लकइन अवधि माघ ८ गते सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक समुहको १ करोड ३५ लाख कित्ता सेयर, स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीहरूको ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ लाख ६८ हजार १३८ कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।

लक इन अवधि खुलेपछि उक्त सेयरहरु धितोपत्रको दोस्रो बजारमा साधारण सरह कारोबार गर्न सकिने छ । कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने आफ्नो नाममा रहेको सेयर खरिद बिक्री गर्न पाउने छैनन् ।

कम्पनीको साधारण सेयर २०७७ मंसिर १७ गतेदेखि २०७७ पुस १ गतेसम्म स्थानीय बासिन्दाहरूका लागि तथा २०७७ पुस २४ गतेदेखि २०७७ पुस २८ गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेतमा) नष्काशन तथा बिक्री खुल्ला गरी सर्वसाधारणको २०७७ माघ ९ गते बाँडफाँड भएको थियो ।

नेपाल धितोपत्र बोर्डले यसअघि २०८ मङ्सिर २५ गतेको पत्राचार गर्दै संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर, स्थानीय बासिन्दाहरू तथा कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयरको लक इनमा अवधि समाप्त हुनुभन्दा कम्तिमा एक महीना अघि सार्वजनिक जानकारीमा ल्याउनुपर्ने व्यवस्था गरेको थियो । संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर, स्थानीय बासिन्दाहरू तथा कर्मचारीहरूलाई आरक्षित गरी बाँडफाँड गरिएको सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म किनबेच गर्न नपाइने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।