नेपालको कुल ग्राहस्थ उत्पादनमा वैदेशिक सहायताको हिस्सा साढे ४ प्रतिशत

0
Shares

एक्सनएड नेपालले नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयमा एक अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन वरिष्ठ अर्थविद् डा. डिल्ली राज खनालले तयार पारेका हुन् । शुक्रवार राजधानीमा आयोजित एक औपचारिक सम्हारोमा उक्त प्रतिवेदन पुस्तक विमोचन गरिएको हो ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा हाल वैदेशिक सहायताको साढे ४ प्रतिशत मात्र हिस्सा रहेको तथ्याङ्क केलाउँदै अनुसन्धानकर्ता डिल्ली राज खनालले वैदेशिक सहायता र आर्थिक विकास बिच कुनै सम्बन्ध नरहेको निष्कर्ष पस्केका छन् । अर्को भनेको वैदेशिक सहायता र देशको नीति नियम बिच पनि कुनै सम्बन्ध नरहेको बताए । उनले भने, ”तिर निसानामा लागेको छैन । वैदेशिक सहायता आवश्यकता भन्दा टाढा रहेको छ । ” उनको प्रतिवेदनअनुसार वैदेशिक सहायता शिक्षा र स्वास्थ्यमा आवश्यक रहेको बेलामा सबै सहायता भने ऊर्जा क्षेत्रमा रहेको कारण पनि कुनै नतिजा नदेखिएको उनले बताए ।

दिगो विकासका लक्ष्य हासिल गर्न हाम्रो नित नियमका कारण वैदेशिक सहायता घट्दो क्रममा रहेको छ र वैदेशिक सहायतामा सरकारको हस्तक्षेप घट्दा प्रत्यक्ष एजेन्सी मार्फत खर्च गरिने परिपाटी बढ्दो रहेको उनले लेखेको प्रतिवेदन पुस्तकको सारांश रहेको छ ।

प्रतिवेदनको टिप्पणी गर्दै पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक सहायतालाई एक पक्षबाट मात्र मूल्याङ्कन गर्नु भन्दा सह सम्बन्धको हिसाबमा मूल्याङ्कन गर्दा प्रस्ट हुने भनाई राखे । नेपालको हरेक ठुलो परियोजनामा वैदेशिक सहायताको केही न केही हिस्सा रहेको बताउँदै कुनै वैदेशिक सहायता राम्रो र कुनै नराम्रो हुनु स्वभाभीक रहेको डा. खतिवडाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।

डा. वाग्ले भन्छन्, ”यहाँ हरेक नियुक्ति बेचबिखन हुन्छ । नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार, पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने), संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छौँ । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निरपेक्ष रूपमा अरू केही जान्दैनन् हामी नै हौँ जानकार ७० को दशकमा आए होलान् । तर अहिले हामी संवाद गर्नसक्छौं । तिम्रो कुरा मान्य छैन भनेर निकाल्न सक्ने हैसियत छ । तर जहाँ जहाँ चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।”

देशको विकासमा सानो हिस्सा ओगटेको वैदेशिक सहायतामा भन्दा देश विकासमा कर र प्रत्यक्ष वैदेशिक लगानीको प्रभावकारीबारे चर्चा गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको उनको भनाई थियो । ”देश वैदेशिक सहायतामा होइन, विदेशबाट पठाएको विप्रेषण आप्रवाहबाट जोग्गिरहेको छ, ” डा. वाग्लेले बताए ।
कार्यक्रममा टिप्पणी प्रस्तुत गर्दै, पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले देशमा भुईँ फुट्टा वर्ग हाबिहुँदा कुनै पनि योजना सफल हुनु नपर्ने परिपाटि विकास भइरहेको बताए । एयरपोर्ट बनाउन माहिर तर चलाउन सधैँ असफल भएको कथा सुनाउँदै शिक्षा र स्वास्थ्यमा वैदेशिक सहायताको हस्तक्षेप नहुँदासम्म यसको प्रभावकारिता महसुस नहुने धारण व्यक्त गरे ।

त्यस्तै कार्यक्रमको मुख्य अतिथि सभामुख देवराज घिमिरेले, वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायताको बारेमा जानकारी पुग्नुपर्ने बताए । उनले देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए । घिमिरेले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए ।

तर, कार्यक्रममा नारिवादी अर्थशास्त्री भारती सिलवालले वैदेशिक सहायतालाई कुल आर्थिक मुल्याङ्कनमा मात्र सिमित गर्नु भन्दा लैगिङ्क, पिछडिएको वर्ग, समानता, महिला शिक्षा लगायतको क्षेत्रमा परेको प्रभावको बारेमा छलफल हुनु पर्ने बताईन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।