‘इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा स्वार्थ समूह मेराविरुद्ध खनिए’: अर्थमन्त्री महत

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह आफू विरुद्ध खनिएको बताएका छन् ।
बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका महतले आफूले स्वार्थसमूहका लागि काम नगर्ने बताउँदै देश र जनताका लागि मात्र काम गर्ने उल्लेख गरेका हुन् ।

‘इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेराविरुद्ध खनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।’ उनले भने, ‘पार्टीभित्र संघर्ष गर्दै, नेविसंघको राजनीति मार्फत् म यहाँ आइपुगेको हुँ, मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन । इमान्दार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरिरहेको छु र गर्छु ।’

आफू धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा अर्थमन्त्री बनेको र दुई महिना कम बजेट बनाउने समय रहेको उनले बताए । पूर्व प्राधानमन्त्री केपी शर्मा ओलीको समयभन्दा अगाडिदेखि नै समस्या चुलिन थालेको भन्दै मन्त्री महतले भने, ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरु अगाडि बढाइएको थियो । समस्याको पहाड थियो । कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकता भयो भने बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न नसक्ने समेत बताए । नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको उनले औंल्याए ।

प्रवक्ता एवम्म मन्त्री डा. महतले भन्ने, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निस्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ ।’ बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए ।

आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने, बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे ।

‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ’ मन्त्री डा. महतले भने, ‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।’

उनले भने, ‘संसदमा हाम्रो तीन गुण बढी संख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहिँ पुग्दैनौं । संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।’

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।