कोरियन भाषा परीक्षाका लागि हालसम्मकै धेरै आवेदन

0
Shares

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीमा जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएको ईपीएस शाखाले जनाएको छ ।

शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै उच्च हो । शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन सकिने व्यवस्था गर्दै आएको छ ।

गएको साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने व्यवस्था भएपछि आवेदन धेरै परेको हो ।  गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।

दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने बताएको छ ।

अहिले खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाँकी छ । रोजगारीका लागि कोरिया जान पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरिया सरकारले सन् २००८ देखि औपचारिक रुपमा नेपाली श्रमिक लैजान थालेको हो । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् । कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।