सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो । जसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा जेठ २८ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।