अर्थतन्त्र सकरात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ : अर्थमन्त्री डा. महत

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकरात्मक बाटोमा गइरहेको बताएका छन । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, तथ्यांकले अर्थतन्त्र सकरात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी छ।’

अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक हुँदैछन् । अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ मन्त्री डा. महतले अपेक्षा राखे।

उनले भने, ‘सेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ ।’

नागरिक समाज, संचारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकरात्मक डिकोर्षको आवश्यकता छ । यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकरात्मक भाष्य त्यागेर सकरात्मकतर्फ लाग्नुपर्छ । तथ्यांकले अर्थतन्त्र सकरात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको मन्त्री डा. महतको भनाइ थियो।

उनले भने, ‘नेपालको जलविद्युत, कृषि ब्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउँछ । अवसर यही छ, युवाहरुले सुष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यही छ ।’

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री

अर्थमन्त्री महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन। उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को बर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’

अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्यौं । अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित रहेको उनले बताए।

कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएको बताए। यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको छ । उनीहरुको संरक्षणमा सरकार कटिबद्ध छ ।’

उनले देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गर्नुभएका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा खेल्नुभएको छ । यो ठाउँमा पहिला पनि विकासको आधार सिर्जना भएकै हो । ०४६ पछि चितवनले विकासको फड्को मारेको बताए।

यसैमा खुशी हुने अवस्था नरहेको उनको भनाइ थियो, ‘हाम्रा आवश्यकताहरु परिवर्तित हुँदै छन् । सँगसँगै महत्वकोक्षा वृद्धि हुँदैछ । परिवर्तित संसारसँगसँगै यहाँको पनि परिवर्तन र आर्थिक आकांक्षाहरु अनुरुप हामीले डेलिभरी दिनुपर्ने उनको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्ग अब ६ लेनको बन्दैछ । यसले यातायात लागत कम गर्ने र पर्यटनलाई सहयोग गर्नेछ । हेटौडासम्मको फास्ट ट्रयाक बनिसकेपछि काठमाडौंबाट डेढ घन्टामै पूर्व चितवन आइपुगिने उनले बताए।

‘निकुञ्ज र यस वरिपरी बस्ने जनताको भविष्यसँग जोडिएको छ । दुवैको विकास सँगसँगै जानुपर्छ । निकुन्ज जनताका लागि र जनता निकुन्जका लागि भन्ने मान्यता सरकारले अगाडि बढाउँछ । ०२९ सालको ऐन परिवर्तन हुन्छ’ मन्त्री डा. महतले भने, ‘निकुन्ज र पर्यावरणको नाममा आएको पैसा एड्भोकेशी र रिर्पोट तयार गर्ने नाममा उत्तै फर्किन्छ । अब एड्भोकेशी र रिर्पोटको थप आवश्यकता छैन । निकुन्ज र पर्यावरणको नाममा आएको पैसा उतै जाने विधि हामी मान्दैनौं ।’

वन्यजन्तु तीन गुणा वृद्धि भएकाले मानिस र वन्यजन्तुको द्वन्द्व बढेको मन्त्री डा. महतले बताए। उनले ‘संरक्षणका लागि आएको पैसा वन्यजन्तु र मानिसको जनजिविकामा खर्च हुनुपर्ने माग राखे । उनले भने, ‘नेपालको ४५ प्रतिशत जमिनमा जंगल छ । केही वर्षको अन्तरालमा हामीले २७ बाट हामीले ४५ प्रतिशत पुर्याएका हौं । विदेशी सहयोगले जंगल वृद्धि भएको होइन, हाम्रो सामुदायिक वनको अवधारणाले वृद्धि भएको हो ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।