पूँजी बजार र बीमा क्षेत्रमा अपेक्षित सुधार नहुँदा प्रधानमन्त्री चिन्तित

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको दाबी गर्दै अपेक्षित सुधार नहुँदा आफू चिन्तित रहेको बताएका छन ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले पूँजी बजार र बिमा क्षेत्रको सुधारका लागि गम्भीर सरकारले गृहकार्य गरिरहेको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताए। ‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धि दरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’, उनले भने, ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ।’

भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैयाँले सकारात्मक रहनु र कयौँ वर्षदेखि घाटामा रहेको चालु खातासमेत नाफामा रहनु सरकारको अर्को उपलब्धि भएको उनले बताए।

‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढी आयात मात्र घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ। समस्याहरूलाई जनतासँग लुकाएर देश अघि बढ्दैन’, प्रचण्डले भने, ‘आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल म लिनेछु। विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ। अब मेरो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।