अधिक तरलताका कारण अन्तर बैंकदर आशा गरे अनुसार नबढेपछि बिहीबार थप २० अर्बको निक्षेप संकलन

0
Shares

केन्द्रीय बैंकले बिहीबार पनि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीको अधिक तरलताका कारण अन्तर बैंकदर आशा गरेअनुसार नबढेपछि बिहीबार पनि निक्षेप संकलन गर्ने भएको हो ।

केन्द्रीय बैंकले मंसिर २८ गते निष्कासन गरेको २० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन बिहीबार १४ दिन अवधिमा परिपक्क हुँदैछ । उक्त २० अर्बमा बैंक वित्तीय संस्थाले धेरै ब्याज माग गरेपछि केन्द्रीय बैंकले २ अर्ब २५ करोड रुपैयाँ बरावर मात्रै निक्षेप लिएको थियो ।

उक्त रकम पनि परिपक्क हुने भएपछि वित्तीय प्रणालीमा तरलता बढ्ने र अन्तर बैंक दर नघट्ने सम्भावना उच्च देखेपछि केन्द्रीय बैंकले बिहीबार पनि २० अर्ब बराबरको ७ दिने निक्षेप संकलन गर्ने भएको हो । गत बुधबार मात्रै केन्द्रीय बैंकले ३५ अर्बको निक्षेप संकलन गरेको थियो ।

गत बुधबार केन्द्रीय बैंकले माग गरेको ३५ अर्बको निक्षेपका लागि १८ बैंक वित्तीय संस्थाले ७८ आवेदन मार्फत ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको माग गरेका थिए। यसको औसत ब्याजदर २.८५९४ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ । हाल अन्तर बैंकदर २.५८ प्रतिशतमा रहेको छ ।

केन्द्रीय बैंकले गत मंसिर ६ गते देखि पुस ११ सम्म १४ पटक निक्षेप संकलन गरिसकेको छ । यो अवधिमा केन्द्रीय बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनको माग गरेको थियो ।

त्यसमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ३२ अर्ब रुपैयाँ मात्र निक्षेप संकलनमा लगानी गरेका थिए । त्यसमध्ये पनि एक खर्ब २५ अर्ब रुपैयाँ केन्द्रीय बैंकसंग छ । बाँकी रकम भने परिपक्क भएपछि बैंक वित्तीय संस्थामा फिर्ता भइसकेको छ ।

वित्तीय प्रणालमिा अधिक तरलता भएपछि अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर धेरै नघटोस् भनेर वित्तीय प्रणालीको तरलता खिच्न अल्पकालिन अवधिका लागि केन्द्रीय बैंकले निक्षेप संकलन गर्छ । निक्षेप संकलनले ब्याजदर करिडोरभित्र राख्ने तथा तरलता व्यवस्थापनको काम गर्छ ।

ब्याजदर करिडोर अन्तर्गत माथिल्लो सीमाको रुपमा बैंकदर ७ प्रतिशत तोकिएको छ । त्यसैगरी नीतिगत दरको रुपमा रिपोट रेट ५.५ प्रतिशत तोकिएको छ । वित्तीय प्रणालीमा तलरलता संकुचन भई अन्तर बैंक ब्याजदर बैंक दर भन्दा माथी गएको खण्डमा रिपो मार्फत केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्ने ब्यवस्था मौद्रिक नीतिमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।