
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठेको यो पहिलो पटक भने होइन । योग्यतामा प्रश्न उठाइनुको मुख्य कारण भनेको उनले कुनै पनि विषयमा स्नाकोत्तर नगरे पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) भएकाले हो ।
यसअघि चार्टर्ड एकाउन्टेन्ट भनेको स्नाकोत्तर उपाधि नभएको दाबी गर्दै केन्द्रीय बैंककै पूर्व सञ्चालक बालकृष्ण मान सिंह विरुद्ध पनि सर्वोच्चमा मुद्दा परेको थियो । सिंहले त्रिभुवन विश्वविद्यालयबाट सीएलाई स्नाकोत्तर उपाधिको सम्बन्धन लिएका थिए । सोही सम्बन्धनलाई देखाउँदै सर्वोच्चले रिट खारेज गरेको नजिर छ । उक्त नजिरलाई हेर्दा पनि गर्भनर महाप्रसाद अधिकारी विरुद्धको रिट समेत खारेज हुने देखिन्छ ।
राष्ट्र बैंक ऐन अनुसार केन्द्रीय बैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालक हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्छ । महाप्रसाद अधिकारी यसअघि केन्द्रीय बैंकको डेपुटी गभर्नर भैसकेको अवस्था छ । त्यसैगरी उनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सरकारी नियुक्ती लिई काम गरिसकेका छन् । उनी बोर्डमा नियुक्त हुँदा पनि योग्यताको विषयमा प्रश्न उठाइएको थियो । अधिकारी सीए भएपनि स्नाकोत्तर उपाधि हाँसिल नगरेको हुनाले बोर्डको प्रमुख कार्यकारी हुन नसक्ने दाबी गर्दै सर्वोच्चमा मुद्दा परेको थियो । उक्त मुद्दाको विषयमा सर्वोच्चले सुनुवाइ गर्दै रिट नै खारेज गरेको थियो ।
वालकृष्ण मान सिंहले जस्तै गभर्नर अधिकारीले पनि सीएलाई त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरको समकक्षता लिएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट २०७४ साल साउन १९ गते सीएको योग्तालाई मास्टर अफ कमर्सको मान्यता पाएका छन् । यस आधारमा पनि योग्यता नपुगेको भन्दै मुद्दा दायर गर्नु फगत चर्चाका लागि मात्र भएको स्पष्ट हुन्छ ।

अधिकारीको योग्यताको विषयमा परेको रिट उपर शुक्रबार सुनुवाई गर्दै सर्वोच्चले पनि अन्तरिम आदेश दिन मानेन । न्यायाधिश सुष्मलता माथेमाको एक इजलासले उक्त रिट उपर सुनुवाई गर्दै विपक्षीलाई कारण देखाउन आदेश दिएको छ ।
निवेदकले माग गरे अनुसार अन्तरिम आदेश नदिने भएपछि कारण देखाउ आदेश जारी भएको सर्वोच्चका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले बताए । “अन्तरिम आदेश दिने भए दुबै पक्षलाई छलफलमा बोलाउथ्यो,” घिमिरेले भने, “कारण देखाउ आदेश भनेपछि अन्तरिम आदेश आउँदैन ।”
योग्यतामा प्रश्न उठाउने गरिए पनि अधिकारी केन्द्रीय बैंकको डेपुटी गभर्नरदेखि गभर्नरसम्म भए । त्यति मात्र नभई निवर्तमान गर्भनर डा. चिरञ्जिवि नेपाल गभर्नरमा नियुक्त हुँदा पनि गभर्नर छनोट समितिले अधिकारीलाई पनि सिफारिस गरेको थियो । उनी पहिलो पटक सिफारिस हुँदा डा. चिरञ्जिवि नेपाल गभर्नरमा नियुक्त भए । नेपालको कार्यकाल सकिएपछि पुनः गभर्नरको प्रतिस्पर्धामा सहभागि भएका अधिकारीलाई दोस्रो पटक छनोट समितिले सिफारिस गर्यो । दोस्रो पटको सिफारिसमा परेका अधिकारीलाई सरकारले २०७६ चैतमा अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।
सीए उपाधि स्नातक सरह रहेको दाबी गर्दै योग्यतामा प्रश्न उठाइरहँदा अधिकारी भने भारतको एक विश्वविद्यालयबाट विद्यावारीधिको तयारीमा जुटेका छन् । उनी गभर्नर भएकै कारण उक्त उपाधि हाँसिल गर्ने प्रक्रिया पूरा गर्न सकेका छैनन् । विश्वविद्यायलले ६ महिना पूर्णकालिन अध्ययन गर्नुपर्ने शर्त राखेपछि गभर्नरको जिम्मेवारीमा रहेको कारण विद्यावारीधि गर्न सकेका छैनन् ।










प्रतिक्रिया