राष्ट्र बैंकले १४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले पुस २८ गते सोमबार (आज) १४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। सरकारलाई आवश्यक आन्तरिक ऋण रकम जोहो गर्न केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट सो बिल बिक्री गर्न लागेको हो।

पुस २९ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल आवेदन गर्न सक्नेछन्

बैंकले यसअघि जारी गरिसकेको ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। जसमध्ये ९१ दिन अवधिको ८ अर्ब, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको रहेको छ । ९१ दिन अवधिको ट्रजरी बिल २०७७ बैशाख २ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०७७ असार ३० गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलको प्रमाणपत्र भुक्तानी मिति अगावै खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ। यस्तै धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्था वा व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकद्धारा यसअघि पुस २१ गते जारी भएको १० करोड रुपैयाँको ९१ दिन अवधिको ट्रेजरी बिलमा २.४०६८ औषत डिस्काउन्ट दर कायम भएको थियो