मधेश प्रदेशका उद्योगहरुको उत्पादन क्षमता ७ प्रतिशत विन्दुले घट्यो

0
Shares

मधेश प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता ७ प्रतिशत विन्दुले घटेको छ । आर्थिक मन्दी तथा बजारको मागमा आएको कमीका कारण मधेश प्रदेशका उद्योगहरुको उत्पादन क्षमता घटेको हो ।

आर्थिक वर्ष २०८९/८० मा मधेश प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४.२५ प्रतिशत रहेको छ । यो औसत उत्पादन क्षमता अघिल्लो आवको तुलनामा ७.२७ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो आवमा मधेश प्रदेशका उद्योगहरुको उत्पादन क्षमता औसतमा ६१.५२ प्रतिशत थियो ।

तर, गत आवमा मधेश प्रदेशका उद्योगहरुको उत्पादन क्षमता घटेको भएपनि उत्पादन भने औसतमा ५.२३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवमा मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले वृद्घि भई १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स एवम् धातुका सामान उत्पादन तर्फ ५ प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ २ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ १ प्रतिशत कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ।

गत आर्थिक वर्षमा मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.२५ प्रतिशतले बढेको छ । गत आवमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा सो प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई २ खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो।

त्यसैगरी गत आवमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा अघिल्लो आवको तुलनामा ४.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई ४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो।

आर्थिक वर्ष २०७९/८० मा समग्र बैंकिङ क्षेत्रको कुल निक्षेप परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ६८.२९ प्रतिशत रहेको थियो भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम १.१७ प्रतिशत मात्र रहेको थियो । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान ५.०९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

गत आवमा कुल कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ५०.५४ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशको हिस्सा २.८८ प्रतिशत रहेको थियो । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको हिस्सा ८.२९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।