पोखराको अन्नपूर्ण केबलकारले ३१ करोडको आईपीओ बिक्री गर्दै

0
Shares

पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरदेखि सराङकोटमा संचालित अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । केबलकारले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको गत वैशाख २९ गते सम्पन्न विशेष साधारणसभाले कम्पनीका संस्थापक सेयरधनीलाई ३४ करोड बराबरको हकप्रद बिक्री गरेपछि सर्वसाधरणलाई ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल केबलकारमा संस्थापक सेयरधनीहरुको लगानी १ अर्ब २४ करोड रुपैयाँ छ । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी, जापानी लगानीकर्ता तथा केही स्थानीयहरु संस्थापक सेयरधनी रहेका छन । रियल स्टेट तथा रोडसो क्षेत्रमा २६ वर्ष लामो अनुभव बटुलेका कालु गुरुङ कम्पनीका अध्यक्ष रहेका छन् ।

सर्वसाधरणलाई ३१ करोडको सेयर बिक्री गरेपश्चात कम्पनीको चुक्तापुँजी एक अर्ब ५५ करोड पुग्नेछ । जसमा संस्थापकको ८० प्रतिशत तथा सर्वसाधरणको २० प्रतिशत लगानी हुनेछ।

आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको छ । केवलकारको माथिल्लो स्टेशन सराङकोटमा कम्पनीले पञ्चमुखे गणेशको मूर्ति ,भ्यू टावर, मूर्तिसहित अन्य संरचना निमार्णको प्रक्रियामा छ ।

२०७८ साल फागुनदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरदेखि सराङकोट डाडासम्मको २.३ किलोमिटर दूरीमा केवलकार संचालन गर्दै आएको छ । केबलकारले क्याबिनसहित १८ वटा गोन्डोला मार्फत दु्रत गतिको सेवा कम्पनीले प्रदान गर्दै आएको छ। पर्यटकीय सहर पोखरामा सञ्चालनमा रहेको केवलकार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणमा रहेको छ ।

अन्नपूर्ण केवलकार १ अर्ब ९७ करोड लगानीमा निर्माण भएको हो । कोभिड–१९ का कारण निर्माण सामाग्रीको मूल्यमा भएको वृद्धि तथा जग्गा अधिग्रहणका क्रममा जग्गाको मूल्य बढ्दै जादा परियोजना सम्पन्न हुँदा सम्म लागत १२० प्रतिशतले बढ्न पुगेको थियो । परियोजनाको सुरुवातमा ८९ करोड ६० लाख लागत अनुमान गरिएको थियो । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग एक अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।