वार्षिक साढे ७ अर्बको कारोबार गर्ने शौर्य सिमेन्टले आईपीओ जारी गर्ने

0
Shares

नेपालमा प्रख्यात व्यापारिक घराना– शङ्कर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको लगानी रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

शौर्य सिमेन्टले अंकित मूल्यमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५६५ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

शौर्य सिमेन्टले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ४० करोड ७० लाख सञ्चालन आम्दानी गरेको थियो। सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२२ को अगस्ट महिनामा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ट्रिपल बी माइन्स रेटिङ गरेको छ ।

कम्पनीले ओपिसी तथा पिपिसी सिमेन्ट उत्पादन गर्नुका साथै क्लिंकर समेत उत्पादन गर्दै आएको छ । कम्पनीले शौर्य ब्रान्डनाम मार्फत सिमेन्टको बिक्री वितरण गर्दै आएको छ । सिराहाको मिरचैयामा अवस्थित उद्योगको कुल उत्पादन क्षमता प्रति दिन ३ हजार टन रहेको छ ।

शौर्य सिमेन्ट इन्डष्ट्रिजले गत मंसिर १६ गतेदेखि आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात शुरुवात गरेको छ । २०७८ माघ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ ।

कम्पनीमा ३ व्यापारिक घरानाको लगानी छ । व्यवसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ । ठूला व्यापारिक घरानाको सहयोगमा कम्पनीले आफ्नो व्यापार विस्तार गरिरहेको छ । कम्पनीका अध्यक्ष सुलभ अग्रवाल हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।