समृद्धिको यात्रामा सरकार र निजी क्षेत्र एउटै डुङ्गामा : अर्थमन्त्री

0
Shares

निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ ।

सात दशकको अवधिमा चेम्बरले मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रका तर्फबाट दह्रिलो सहयोगीको भूमिका निर्वाह गरेको छ । आर्थिक तथा व्यापारिक गतिविधि अभिवृद्धि, स्वदेशी उत्पादनको विश्वव्यापीकरण तथा व्यापार विस्तारका साथै मुलुकको ढुकुटीमा उल्लेख्य राजस्व वृद्धिमा चेम्बरको योगदान रहेको छ ।

चेम्बरको ६९ औँ वार्षिक साधारणसभा तथा ‘चेम्बर दिवस २०७६’ का अवसर पारेर आज यहाँ आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको लगानीबाट मात्र मुलुकको समृद्धि सम्भव नभएकाले यसका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए । “मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा छ । यो सरकारको लगानीबाट मात्रै सम्भव भएको होइन, सरकारले जम्मा एक तिहाई लगानी गरेको छ, बाँकी दुईतिहाइ निजी क्षेत्रले लगानी गरेको छ, त्यसले नै अर्थतन्त्र सबल दिशामा अगाडि बढेको हो”, उनले भने ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्र तथा सरकारको नीति कार्यक्रममा निजी क्षेत्रको भूमिकालाई स्पष्टसँग लिपीबद्ध गरिएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिको मार्गमा निजी क्षेत्रलाई सँगसँगै लैजान निजी क्षेत्रमैत्री कानून निर्माण गरिएको बताए ।

“कानून निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त मात्रामा छलफल गरिएको छ, अपारदर्शी कानूनलाई पारदर्शी बनाइएको छ”, निजी क्षेत्रलाई विश्वासमा लिने आधार प्रस्तुत गर्दै उन्ले भने, “निजी क्षेत्रलाई हतोत्साही र निरुत्साहित गरेर मुलुकको समृद्धि सम्भव छ भन्ने हाम्रो निष्कर्ष होइन ।”

समृद्धिको यात्रामा सरकार र निजी क्षेत्र एउटै डुङ्गामा रहेको टिप्पणी गर्दै अर्थमन्त्री डा खतिवडाले डुङ्गा डुब्दा सरकार पनि असफल हुने बताउयो । “अप्ठ्यारा कानून भए सुधार गरौँ, आउनुस् छलफल गरौँ”, उनले भने । मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न निर्यात बढाउनुपर्नेमा जोड दिँदै उनले निर्यातजन्य उद्योगमा लगानी गर्न आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन सरकारले भरमग्दुर प्रयत्न गरिरहेको उल्लेख गर्दै कानूनी सुधार र प्रक्रियागत झन्झटलाई अन्त्य गरिएको बताए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निकासी प्रवद्र्धनमा सरकारको ठोस् नीति र कार्यक्रमको अभाव, कच्चा पदार्थको अभाव, कमजोर पूर्वाधार सञ्जाल, प्रशासनिक झमेला, दक्ष जनशक्तिको अभावलगायत कारणले व्यापार घाटा न्यूनीकरणमा चुनौति थपिएको बताए ।

सो अवसरमा चेम्बरमा निरन्तर २५ वर्ष सेवा पु¥याएका कर्मचारी, कार्यसमिति सदस्य तथा पदाधिकारीलाई सम्मान गरिएको थियो । यस्तै ‘जनकदास स्मृति पुरस्कार’ उद्योगी पद्म ज्योति र डोको रिसाइक्लर्स नामक संस्थालाई प्रदान गरिएको थियो । सो संस्थाले फोहोरबाट बहुउपयोगी वस्तु निर्माण गर्दै आएको छ । यस्तै ‘वनवरीलाल स्मृति पुरस्कार’ पर्यटन व्यवसायी सिर्जना राणा, ‘इन्द्रभक्त स्मृति पुरस्कार’ विजयकुमार साह र ‘ईश्वरलाल श्रेष्ठ लाइफटाइम एचिभमेन्ट पुरस्कार’ महेशलाल प्रधानलाई प्रदान गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले चेम्बर स्मारिका र महिला चेम्बरले एक वर्षको अवधिमा गरेको गतिविधिको विवरण समेटिएको पुस्तक विमोचन गरेका थिए ।

मुलुक सङ्घीय संरचनामा गएसँगै चेम्बरले सङ्गठनलाई पनि सोहीअनुरुप पुनःसंरचना गरेको छ । सातवटै प्रदेश र ७७ जिल्लामा चेम्बर अभियान पु¥याउने लक्ष्य अनुसार हालसम्म ५९ जिल्ला, ४० नगर तथा केही स्थानीय तहमा समेत चेम्बरले सक्रिय उपस्थिति जनाएको छ । हाल चेम्बरमा ८६ वस्तुगत सङ्घ र २१ द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ आबद्ध छन् ।